चौघडामा फेला परेको सालकलाई रानी सामुदायिक वनमा छाडियो

स्वर्णिम खबर
२३ श्रावण २०८३, शनिबार १६:५६

२४ साउन, हेटौंडा । हेटौँडा–६, चौघडामा लोपोन्मुख सालक फेला परेको छ । स्थानीयले फेला पारेको सालकलाई उद्धार गरी रानी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा वन क्षेत्रमै छाडिएको छ ।
साउन २२ गते राति स्थानीय उपभोक्ता सुजन तामाङसहितले चौघडास्थित प्रज्वल शिक्षा सदन इङ्लिस स्कुल नजिक सालक फेला पारेका थिए । उनीहरूले सालकलाई प्रहरी चौकी चौघडाका इन्चार्ज सूर्यबहादुर श्रेष्ठलाई बुझाएका थिए । श्रेष्ठले उक्त सालक रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेललाई बुझाउनुभएको थियो ।
करिब २ किलो ८ सय ग्राम तौल रहेको सालकलाई शनिबार बिहान हेटौँडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धिताल, प्रहरी चौकी चौघडाका इन्चार्ज सूर्यबहादुर श्रेष्ठ, सालकका विषयमा अनुसन्धान गरिरहेका वन विज्ञान अध्ययन संस्थान, हेटौँडाका विद्यार्थी समिक विष्ट, वन समूहका पदाधिकारी तथा स्थानीय उपभोक्ताको रोहवरमा सामुदायिक वनको ब्लक नं. ६ मा छाडिएको हो ।
सालकलाई वन क्षेत्रमा छाड्नुअघि रानी सामुदायिक वन उपभोक्ता समूहले चौघडा बजारका उपभोक्तालाई सालकको संरक्षण, महत्व र यसको संरक्षणमा स्थानीय समुदायको भूमिकाबारे जानकारी गराएको थियो । समूहले २०६२ सालदेखि सालक संरक्षण गर्दै आएको छ । सालकको संरक्षणसँगै यसको महत्वबारे स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको समूहले जनाएको छ । समूहका अनुसार रानी सामुदायिक वन क्षेत्रभित्र हाल एक सयभन्दा बढी सालक रहेको अनुमान गरिएको छ ।
रानी सामुदायिक वनले लोपोन्मुख सालकको संरक्षणमा निरन्तर काम गर्दै आए पनि सम्बन्धित निकायबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको समूहका अध्यक्ष केशव धितालले बताउनुभयो । उहाँले सालक संरक्षणका लागि सरकारी तथा सम्बन्धित संरक्षण निकायबाट थप सहयोग आवश्यक रहेको बताउनुभयो । रातको समयमा सक्रिय हुने सालक आहाराको खोजीमा वन क्षेत्रबाट बाहिर निस्कने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक पक्रने, शिकार गर्ने, यसको खपटा व्यापार गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*