हेटौंडामा ‘शून्य फोहोर’ महाअभियान घोषणा

पर्यटन वर्ष २०८३ को पहिलो अभियान सुरु
स्वर्णिम खबर
२१ श्रावण २०८३, बिहीबार १५:१९

२१ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई सफल बनाउन पहिलो सूचकका रूपमा ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान घोषणा गरेको छ ।
‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा’ नारालाई व्यवहारमा उतार्ने उद्देश्यसहित नगरव्यापी सरसफाइ अभियान सञ्चालन गरिने भएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा १९ औँ नगरसभाबाट पारित पर्यटन प्रवद्र्धन सम्बन्धी योजनालाई कार्यान्वयन गर्न टोल विकास संस्था नगर समन्वय समितिसँगको सहकार्यमा महाअभियान सुरु गरिएको जानकारी दिएको हो । उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले हेटौंडाले विगतदेखि नै सरसफाइलाई विकासको आधारका रूपमा अघि बढाउँदै आएको बताउँदै अब अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
उहाँले अभियानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी नगरभित्रका सरकारी तथा संस्थागत विद्यालय, मन्त्रालय, संघीय सरकारी कार्यालय, सार्वजनिक स्थल तथा समुदायस्तरसम्म विस्तार गरिने बताउनुभयो । उहाँका अनुसार घर, विद्यालय र कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्था कडाइका साथ लागू गरिनेछ ।
उपमहानगरपालिकाले नगरभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामाथि कडाइका साथ प्रतिबन्ध लागू गर्ने भएको छ । सरसफाइ अभियानलाई जनस्तरमा प्रतिस्पर्धात्मक बनाउन उत्कृष्ट टोल र वडालाई सम्मान गरिने कार्यक्रम पनि रहेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । विद्यालय तहबाटै सरसफाइ संस्कृतिको विकास गर्ने उद्देश्यले ‘मेरो फोहोर, मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायीले आफ्ना पसल तथा व्यवसायस्थल अगाडि अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने व्यवस्था लागू गरिनेछ । त्यसैगरी, सार्वजनिक यातायातका साधनमा पनि डस्टबिन राख्ने नीति अवलम्बन गरिने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख मीनाकुमारी लामाले सरसफाइ एकदिने अभियान नभई नागरिकको दैनिकीसँग जोडिएको संस्कार भएकाले ‘शून्य फोहोर’ महाअभियान वर्षभरि सञ्चालन गरिने बताउनुभयो । उहाँले हेटौंडाको ढल व्यवस्थापन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रयोग भएको पानी प्रशोधन गर्ने प्रणालीको योजना पनि तयार भइसकेको उहाँको भनाइ छ । नगर प्रमुख लामाले वडा नम्बर १५ तथा वडा नम्बर ६ र ७ को सीमाक्षेत्रमा निर्माण हुने ल्यान्डफिल्ड साइटको डीपीआर तयार भइसकेको बताउँदै वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा स्थानीयका चासो सम्बोधन गर्दै निर्माण अघि बढाइने जानकारी दिनुभयो। फोहोर व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्न उपमहानगर सकारात्मक रहेको तर कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद ओली, वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीलगायतको उपस्थिति रहेको थियो । महाअभियानका लागि उपमहानगरपालिकाले ३२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*