बागमतीका नवनियुक्त मन्त्री बज्राचार्यद्वारा शपथ ग्रहण
१९ साउन, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराउनुभएको हो । उहाँ हाम्रो नेपाली पार्टी (हानेपा)बाट सरकारमा सहभागी हुनुभएको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा (हानेपा) का संसदीय दलका नेता बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको हो । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएपछि बज्राचार्यलाई मन्त्री बनाइएको हो । काठमाडौँ ८ (१) बाट निर्वाचित बज्राचार्य यसअघि तत्कालीन नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा पनि संस्कृति तथा पर्यटन मन्त्री बन्नुभएको थियो ।
शपथ ग्रहणपछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उहाँले सरकार लामो समयसम्म जाने देखेर नै सरकारमा सहभागी भएको प्रतिक्रिया दिनुभयो । आफू स्वभावतः सकारात्मक सोच राख्ने व्यक्ति भएकाले वर्तमान सरकारले लामो समयसम्म काम गर्ने अपेक्षा रहेको उहाँको भनाइ छ । प्रदेशमा अन्यौल रहेको अवस्थामा राजनीतिक सहकार्यको लागि बाटो खोलिदिएको उहाँले बताउनुभयो । संघीयता पक्षधर शक्तिहरूले प्रदेश सरकारलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले प्रदेशलाई असफलताको प्रतीक बन्न दिन नहुने धारणा राख्नुभयो । नवनियुक्त मन्त्री बज्राचार्यले अब प्रदेश सरकारले जनताका अपेक्षाअनुसार इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्दै विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको स्थिरता कायम गर्दै नीति, कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न विश्वासको मतको आधार तयार भएको बताउनुभयो । सरकारलाई आवश्यक समर्थन जुटाउने प्रक्रिया हानेपाबाट सुरु भएको उल्लेख गर्दै उहाँले वर्तमान राजनीतिक परिस्थितिमा सरकारलाई थप मजबुत बनाउन सहकार्यको वातावरण बनेको बताउनुभयो । यसअघिको भौतिक पूर्वाधार मन्त्री विनु रायमाझीले व्यक्तिगत व्यस्तता र अन्य कारणले पदबाट राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री बानियाँका अनुसार बाँकी कार्यकालमा सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटलाई तीव्र रूपमा कार्यान्वयन गरी विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य रहेको छ ।नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले प्रदेश सरकारलाई सहयोग गर्न प्रतिबद्धता जनाएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले सरकारलाई बाहिरबाट मात्रै होइन, मन्त्रिपरिषद्मै सहभागी भएर सहयोग गर्न आग्रह गरिएको र त्यस अनुसार सरकारमा सहभागी भएको जानकारी दिनुभयो ।
अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले विश्वासको मतको तयारी गरिरहेका बेला हानेपाको सरकार प्रवेशलाई बागमतीको सत्ता राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । बागमती प्रदेश सभामा हानेपाको दुई सिट छ ।















