सरकारको कार्यशैलीप्रति रास्वपाकै सांसद्को आक्रोश
२२ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियत र निष्ठामा शङ्का गर्ने ठाउँ नभए पनि काम गर्ने शैली र कार्यक्षमतामा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकार स्वयंले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारसँग विकास र सुधार गर्ने इच्छा भए पनि त्यसलाई कार्यान्वयन गर्ने ढङ्गमा कमजोरी देखिएको टिप्पणी गर्नुभयो । सरकारको नियतमा प्रश्न नगरे पनि काम गर्ने तरिकामा पर्याप्त सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । सांसद झाले आफूलाई सबै कुरा थाहा छ भन्ने मानसिकताले सुधार र विकासको प्रक्रियालाई अवरुद्ध गर्ने बताउनुभयो । उहाँले नयाँ कुरा सिक्ने, कमजोरी स्वीकार गर्ने र विज्ञ तथा सरोकारवालाबाट सुझाव लिने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद झाले मधेसको समस्या समाधानका लागि सरकार थप गम्भीर हुनुपर्ने बताउनुभयो । मधेसमा लामो समयदेखि देखिँदै आएको असन्तुष्टि पूर्ण रूपमा अन्त्य नभएको उल्लेख गर्दै उहाँले त्यहाँका नागरिकले राज्यबाट समान व्यवहारको अनुभूति गर्न नसकेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने व्यवहार र विमानस्थलबाट आउने यात्रुप्रतिको व्यवहारमा देखिएको विभेदप्रति प्रश्न उठाउनुभयो । गरिब नागरिकलाई सीमा क्षेत्रमा सामान्य उपभोग्य वस्तुसमेत बोकेर आउँदा कडाइका साथ जाँच गर्ने तर विमानस्थलबाट आउने सम्पन्न व्यक्तिले महँगा सामान सहजै ल्याउन पाउने अवस्थाले राज्यको व्यवहारमा असमानता देखाउने उहाँको भनाइ थियो ।
सांसद झाले नेपालको अर्थतन्त्र सुधारका लागि मधेस, प्रवासी नेपाली तथा निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गर्नुभयो ।














