नेकपा र एमालेलाई मुख्यमन्त्रीको जवाफः बहुमत जुटाउनु, मार्गप्रशस्त गर्छु
१८ साउन, हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आग्रह गरेका छन् ।
प्रदेशमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्न मुख्यमन्त्री बानियाँको पहलमा सोमबार ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकमा बाम गठबन्धनका नेताहरूले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै सत्ता हस्तान्तरण सहज बनाउन आग्रह गरेका हुन् ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । बाम गठबन्धनका तर्फबाट नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले वर्तमान सरकारलाई लामो समय अल्पमतकै अवस्थामा राख्नु उपयुक्त नहुने धारणा राखेका थिए । उनीहरूले संविधानको भावना र संसदीय अभ्यास अनुसार नयाँ सत्ता समीकरणलाई सरकार गठनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेकपा संसदीय दलका नेता जम्कट्टेलले सरकार गठनको विषयमा संवादको वातावरण तयार गरेकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक निकास संवैधानिक प्रक्रियाबाटै खोजिनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले विश्वासको मत लिने प्रक्रियामा जानुपर्ने सुझाव दिँदै नेकपा र एमालेबीच नयाँ सरकार गठनका लागि छलफल जारी रहेको जानकारी गराउनुभयो । आवश्यक गृहकार्य पूरा भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
त्यसैगरी एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारमा सहभागी दलले समर्थन फिर्ता गरिसकेको अवस्थामा अल्पमतको सरकारको आयु अनावश्यक रूपमा लम्ब्याउनु उचित नहुने बताउनुभयो । उहाँले नयाँ गठबन्धनलाई सरकार गठनको अवसर दिन मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । संवैधानिक व्यवस्था र संसदीय परम्पराअनुसार बहुमत प्राप्त पक्षलाई सरकार गठन गर्न सहज वातावरण उपलब्ध गराउनु नै उचित हुने उहाँको भनाइ थियो ।
जवाफमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान सरकार अल्पमतमा रहेको अवस्था स्वीकार गरे पनि सरकारबाट बाहिरिने आधार स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले नयाँ सत्ता समीकरणसँग सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत रहेको प्रमाण प्रस्तुत गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री बानियाँले नयाँ गठबन्धनले आवश्यक संख्या सुनिश्चित गरेर सरकार गठनको दाबी प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
उहाँले दलहरूलाई नयाँ गठबन्धनले स्पष्ट बहुमत जुटाएर सरकार गठनको प्रक्रिया अघि बढाउने, र वर्तमान सरकारलाई विश्वासको मत दिएर बजेट कार्यान्वयन तथा प्रशासनिक कामलाई निरन्तरता दिने वातावरण बनाउने २ वटा विकल्पको प्रस्ताव गर्नुभयो । प्रदेशको विकास, बजेट कार्यान्वयन र जनसेवाका काम प्रभावित नहुने गरी राजनीतिक निकास खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सर्वदलीय बैठकमा सहभागी अन्य राजनीतिक दलका नेताहरूले पनि प्रदेशलाई लामो समय राजनीतिक अनिर्णयमा राख्न नहुने धारणा राखेका थिए । यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको नयाँ सरकार गठन हुने लगभग निश्चित भएको छ । साउन ९ गते एमाले र नेकपाबीच भएको राजनीतिक सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने समझदारी बनेको थियो। त्यसयता मुख्यमन्त्रीको विषयमा एमालेभित्र विभिन्न नाम चर्चामा रहे पनि अन्ततः संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै नेतृत्वमा अघि सार्ने निर्णय भएको छ । मुख्यमन्त्रीका आकांक्षीका रूपमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, पूर्व स्वास्थ्य मन्त्री किरण थापा र केशवप्रसाद पोखरेलको नाम चर्चामा रहे पनि पार्टी नेतृत्वले थपलियालाई नै निरन्तरता दिने निष्कर्ष निकालेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलपछि संसदीय दलको नेता परिवर्तन नगर्ने र वर्तमान नेता थपलियाकै नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति बनेको थियो ।
नयाँ सत्ता समीकरणका दलहरूले आवश्यक बहुमत जुटाउने तयारी तीव्र बनाइरहेका बेला बागमती प्रदेशको सरकार गठन प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ ।















