भीमफेदीमा तरकारी बोकेको ट्रक सडकबाट खस्दा एक जनाको मृत्यु
२० साउन, हेटौँडा । भीमफेदी गाउँपालिका–२ तिलटारमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पालुङबाट वीरगञ्जका लागि तरकारी लोड गरेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक मंगलबार राती सडकबाट खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ट्रकमा सवार राक्सिराङ गाउँपालिका–९ बस्ने ३६ वर्षीय अर्जुन कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतक अर्जुन ट्रक चालकका काका हुन् ।
यस्तै, दुर्घटनामा घाइते भएका ट्रक चालक राक्सिराङ–९ कै २३ वर्षीय रञ्जित कार्कीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा फ्याक्चर भएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।
वर्षा र बाक्लो हुस्सुका कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई ट्रक सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट टोली खटिएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरेको थियो ।
ट्रकमा दुई जना मात्र सवार रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















