‘किसानको रकम उठाउने विषयमा प्रशासनले कुनै कसर बाँकी राख्दैन’
१८ साउन, हेटौंडा । मकवानपुरका दुग्ध उत्पादक किसानलाई लामो समयदेखि भुक्तानी दिन बाँकी राख्ने डेरी उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सोमबार बसेको सरोकारवालाको बैठकले किसानको दूधको रकम भुक्तानी नगर्ने उद्योगलाई उन्मुक्ति नदिने निर्णय गरेको हो । बैठकमा गत वैशाख १४ गते जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिअनुसार असार मसान्तसम्म कम्तीमा ६५ प्रतिशत बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता अधिकांश उद्योगले पूरा नगरेको पाइएको थियो । बैठकमा प्रस्तुत विवरण अनुसार हेटौंडा–४ स्थित भुटनदेवी डेरी एण्ड एग्रो प्रालि र हेटौंडा–८ स्थित पवित्र मिल्कले किसानलाई हालसम्म कुनै पनि रकम भुक्तानी गरेका छैनन् । भुटनदेवी डेरीले करिब २२ लाख ३३ हजार रुपैयाँ र पवित्र मिल्कले ४६ लाख ३१ हजार रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ ।
यस्तै, हेटौंडा–१२ स्थित एसके डेरी र हेटौंडा–६ स्थित कल्पवृक्ष डेरीले पनि सहमतिअनुसार रकम भुक्तानी नगरेको पाइएको छ । एसके डेरीले करिब १० प्रतिशत मात्र रकम तिरेको छ भने २८ लाख १६ हजार रुपैयाँ अझै बाँकी छ । कल्पवृक्ष डेरीले जम्मा १ प्रतिशत मात्र भुक्तानी गरेको र ६५ लाख रुपैयाँभन्दा बढी रकम किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले किसानको रकम नतिर्ने उद्योगलाई पत्राचार गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो । किसानको पसिनाको मूल्य उद्योगीले रोक्न नपाउने भन्दै उहाँले सहकारी संघबाट उजुरी प्राप्त हुनासाथ कानुनी कारबाही सुरु गरिने बताउनुभयो । किसानले पाउनुपर्ने रकम उद्योगीले नतिर्ने भन्ने कुरा हुन सक्दैन भन्दै किसानको रकम उठाउने विषयमा प्रशासनले कुनै कसर बाँकी नराख्ने चेतावनी दिनुभयो ।
डेरी उद्योगहरूले सहमतिअनुसार नियमित रूपमा पाक्षिक भुक्तानी नगरेको कारण यो समस्या आएको केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका निवर्तमान अध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताउनुभयो । उद्योगीको बेवास्ता र हेपाहा प्रवृत्तिका कारण समस्या लम्बिएको उल्लेख गर्दै उहाँले छिटोभन्दा छिटो सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न उद्योगलाई आग्रह गर्नुभयो । सहमतिअनुसार रकम नतिर्ने उद्योगविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सहकारी संघ पूर्ण रूपमा तयार रहेको उहाँको भनाइ छ ।

वैशाख १४ गतेको सहमतिपछि केही उद्योगले भने बक्यौता रकम भुक्तानी गर्दै आएका छन् । कविता डेरी तथा जुस उद्योग र नारायणी मिल्क एण्ड फुड्स प्रालिले सहमतिअनुसार तिर्नुपर्ने बाँकी रकममध्ये ९० प्रतिशतभन्दा बढी रकम मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमार्फत भुक्तानी गरेका छन् । त्यस्तै, गायत्री डेरी एण्ड एग्रो प्रालिले ४५ प्रतिशत, शुभ डेरी उद्योगले ४२ प्रतिशत, स्यार्से कालिका डेरीले ३५ प्रतिशत, पिज्जा कटर प्रालिले ३१ प्रतिशत र अनुश्री सप्लायर्सले २३ प्रतिशत रकम किसानलाई भुक्तानी गरेका छन् । तर ती उद्योगबाट पनि अझै ठूलो रकम उठ्न बाँकी छ ।
विवरणअनुसार गायत्री डेरीले ३ करोड ३७ लाख रुपैयाँ, शुभ डेरी उद्योगले ५ करोड ५३ लाख रुपैयाँ, स्यासेकालिका डेरीले १ करोड ६७ लाख रुपैयाँ, अनुश्री सप्लायर्सले १९ लाख ७५ हजार रुपैयाँ, कविता डेरी तथा जुस उद्योगले १२ लाख ४२ हजार रुपैयाँ, पिज्जा कटर प्रालिले ५ लाख ७३ हजार रुपैयाँ तथा नारायणी मिल्क एण्ड फुड्स प्रालिले ५ लाख ५२ हजार रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ । २०८२ फागुन मसान्तसम्म किसानलाई कुल १४ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । त्यसमध्ये असार मसान्तसम्म ४ करोड ३४ लाख रुपैयाँ मात्रै किसानले प्राप्त गरेका छन् । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कडेँल, डेरी सञ्चालक लगायतको उपस्थिती रहेको थियो ।















