विरगञ्जको चिकित्सक माथिको आक्रमणविरुद्ध मकवानपुरमा ज्ञापनपत्र

दोषीमाथि तत्काल कारबाहीको माग
स्वर्णिम खबर
१३ श्रावण २०८३, बुधबार १३:३३

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघ, मकवानपुर शाखाले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा गरिएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।
नेपाल चिकित्सक संघको केन्द्रीय समितिको निर्णयअनुसार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमअन्तर्गत बुधबार मकवानपुर शाखाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको हो। संघका अध्यक्ष डा. हरिबहादुर खड्काको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो । संघका सचिव डा. राजु सेढाईंले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसाका घटनामा सरकार र स्थानीय प्रशासनले देखाएको उदासीनताप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु, अस्पतालमा तोडफोड गर्नु र उपचार सेवामा अवरोध सिर्जना गर्नु स्वास्थ्य सेवामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताउनुभयो । उहाँका अनुसार वीरगञ्ज घटनाको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि नबढाइनु, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीले न्याय नपाउनु तथा आन्दोलनरत चिकित्सकमाथि प्रशासन र प्रहरी नेतृत्वबाट दुव्र्यवहार भएको विषय दुःखद र निन्दनीय छ । यस्ता घटनाले चिकित्सकहरूको मनोबल कमजोर बनाउनुका साथै समग्र स्वास्थ्य सेवा प्रणाली नै प्रभावित हुने भएकाले सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी संघका अध्यक्ष डा. हरिबहादुर खड्काले बिरामीको उपचारमा खटिनुपर्ने चिकित्सक आन्दोलन गर्न बाध्य हुनु अत्यन्त दुःखद अवस्था भएको बताउनुभयो । चिकित्सकहरूको जायज मागप्रति सरकारले समयमै ध्यान नदिँदा आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । उहाँले मकवानपुरमै विगतमा चिकित्सकमाथि भएका आक्रमणका घटनामा दोषीलाई कानुनी कारबाही गरिएको उदाहरण रहेको उल्लेख गर्दै वीरगञ्ज घटनामा पनि निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई प्रशासनमार्फत आवश्यक दबाब सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले चिकित्सकहरूको सुरक्षाप्रति जिल्ला प्रशासन संवेदनशील र प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ज्ञापनपत्र मार्फत उठाइएका माग सम्बन्धित निकायसम्म पु¥याइने र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न प्रशासनले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघ आन्दोलनमा छ। उक्त घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो भने अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी पनि घाइते भएका थिए । घटनापछि दोषीलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै देशभरका सरकारी अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका छन । चिकित्सक संघले स्वास्थ्य संस्थामा हुने हिंसाका घटनालाई शून्य सहनशीलताको नीति अपनाई दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग पुनः माग गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*