निर्मला पन्त हत्या प्रकरणबारे ठाडो जवाफ दिएका गृहमन्त्रीले सांसदहरूसँग माफी मागे

स्वर्णिम खबर
२१ श्रावण २०८३, बिहीबार १८:१४

२१ साउन, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग माफी माग्नुभएको छ ।
सभाको बिहिबारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्दै रोष्ट्रमबाटै माफी माग्नुभएको हो । उहाँको उक्त भाषाशैलीप्रति सांसदहरुले आपत्ति जनाउनुभएको थियो । यसअघि बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषि पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनि प्रश्न सोध्नुभएको थियो ।
जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरु सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै ठाडो प्रतिप्रश्न गर्नुभएको थियो । उहाँले आइन्दा यस्तो प्रश्न नगर्न समेत सांसदहरुलाई चेतावनी दिनुभएको थियो ।
गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । उहाँले देशमा अमनचयन र शान्तिसुरक्षा कायम राख्न गृह मन्त्रालय पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताउनुभयो । गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसद पनि उत्तिकै संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री गुरुङले छानबिनका क्रममा रहेका विषयमा अनुसन्धान जारी रहेकाले बाहिर टिप्पणी गर्न उपयुक्त नहुने बताउनुभयो । उहाँले पीडित परिवारलाई थप पीडा दिनेगरी बलात्कार जस्ता संवेदनशील विषय संसदमा नभई व्यक्तिगत रुपमा राख्न समेत आग्रह गर्नुभयो ।
विपद् व्यवस्थापनका लागि नेपाली सेनाका ७ हजार ५ सय २४, नेपाल प्रहरीका १० हजार ५ सय ७५ र सशस्त्र प्रहरी बलका ८ हजार १ सय १० गरी कुल २६ हजार २ सय १९ जनशक्ति कार्यक्षेत्रमा खटिएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*