मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैनः माधवकुमार नेपाल
१७ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गर्नुभएको छ ।
आईतवार आयोजित तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको सहसंयोजक नेपालको भनाइ छ । उहाँले नेपाल कुनैपनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले पछिल्लो समयम मुलुकमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताउनु भयो ।
उहाँले शहीदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताउनु भयो । उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तुल्सीलाल अमात्यले खेलेको भुमिका स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो।
उहाँले जनताका दैनिक समस्याप्रति राज्य संवेदनशील हुन नसकेको आरोप पनि लगाउनु भयो । उहाँले गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी ठगी र सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर नहुँदा नागरिकले आत्महत्या गर्न बाध्य भएको अवस्था दुःखद् रहेको भन्दै यी सबै कुराहरुमा वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।















