हेटौँडामा पनि निकालियो सद्भाव ¥याली
१६ साउन, हेटौंडा । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा साम्प्रदायिक एकता सुदृढ गर्ने उद्देश्यले शनिबार बागमती प्रदेशको राजधानी हेटौँडामा वृहत् सद्भाव ¥यालीको आयोजना गरिएको छ ।
सर्वधर्म समाज नेपालको समन्वय तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न धर्म, समुदाय र क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पछिल्लो समय देशका केही स्थानमा भएका साम्प्रदायिक तनावका घटनापछि समाजमा आपसी विश्वास, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको ¥यालीमा जनप्रतिनिधि, विभिन्न धार्मिक संघसंस्था, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, विद्यार्थी, युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
हेटौँडा–४ स्थित हुप्रचौरबाट सुरु भएको ¥याली शीतलमहलचोक, कपुर कम्प्लेक्स, बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै हेटौँडा–२ स्थित सङ्गमचोकमा पुगेर सद्भाव सभामा परिणत भएको थियो । ¥यालीका क्रममा सहभागीहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको पक्षमा विभिन्न सन्देशमूलक नारा लगाएका थिए ।
“हिमाल, पहाड, तराई कोही छैन पराई”, “नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे”, “सबै नेपाली एक हौँ”, “हातेमालो गरौँ, सद्भाव बढाऔँ” लगायतका नाराले हेटौँडाको मुख्य बजार क्षेत्र गुन्जायमान बनेको थियो । सहभागीहरूले विविधताबीचको एकतालाई नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न सबै नागरिक सचेत हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
सङ्गमचोकमा आयोजित सद्भाव सभाको प्रारम्भमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिरहामा भएका घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा ती घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको थियो ।

सभालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नेपालको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समाजको आधार भएको बताउनुभयो । उहाँले कुनै पनि प्रकारका अफवाह, घृणा वा उक्साहटपूर्ण गतिविधिले सामाजिक सम्बन्धमा असर पार्न सक्ने भएकाले सबै नागरिकलाई जिम्मेवार र सचेत बन्न आग्रह गर्नुभयो ।
उहाँले समाजमा आपसी विश्वास, सम्मान, सहकार्य र सहअस्तित्वको वातावरण कायम राख्न प्रशासन मात्र नभई राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र आमनागरिक सबैको समान भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारीले यस्ता सद्भाव ¥याली तथा जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।















