सुरुङमार्गको समुद्घाटनसँगै सडक यातायात क्षेत्रमा नयाँ युगको शुरुवात
१० साउन, काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको शुरुवात भएको छ ।
सोमवार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको हो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सिमित भएको छ । यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले उल्लेख गर्नुभयो । निर्माणकै चरणमा रहे पनि विपद्को समयमा यस करिडोरले सम्पर्क मार्गको रूपमा महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । यसले संकटका समयमा आपत्कालीन सेवा र अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि लचिलो एवं भरपर्दो पूर्वाधारको महत्वलाई पुनः स्थापित गरेको उहाँको भनाइ छ ।
त्यसैगरी नेपालका लागि जापानी राजदुत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गर्नुभयो । नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटन हुनुले थप विशेष महत्व राखेको राजदुत तोरुले बताउनुभयो ।
काठमाडौंलाई धादिङ र पोखरातर्फ जोड्ने मुख्य नाकामा अवस्थित यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध र समयको वचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउनेछ । यसबाट स्थानीय समुदायको जीवनस्तरमा सुधार आउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने राजदुत तोरुको भनाइ छ ।
त्यसैगरी पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरु भएको बताउनुभयो । उहाँले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने बताउनुभयो ।
उहाँले नेपालमा सुरुङ पूर्वाधार विकासको शुरुवात मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने बताउनु भयो । उहाँले सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड–१९ महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीका बीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्नुभयो ।
यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो ।















