अभावको मौका छोपेर ग्यास लुकाए कारवाही गर्ने प्रशासनको चेतावनी

सोमबारसम्म बजारमा ग्यासको आपूर्ति सहज हुने व्यवसायीको दाबी
स्वर्णिम खबर
१४ श्रावण २०८३, बिहीबार १८:४०

१४ साउन, हेटौंडा । मकवानपुरमा खाना पकाउने एलपी ग्यासको आपूर्तिलाई सहज बनाउन तथा कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवाला निकायसँग छलफल गरेको छ ।
पछिल्ला केही दिनयता ग्यासको अभाव भएको भन्दै उपभोक्ताहरू डिलरमा लामो लाइन बस्न बाध्य भइरहेका बेला प्रशासनले अभाव व्यवस्थापन, सहज आपूर्ति सुनिश्चित गर्ने र कालोबजारी नियन्त्रणका उपायबारे बिहीबार सम्बन्धित पक्षसँग छलफल गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मकवानपुरमा ग्यासको हाहाकार नै भएको अवस्था नरहेको स्पष्ट पार्दै अभावको मौका छोपेर ग्यास लुकाउने, कालोबजारी गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने, नयाँ सिलिन्डर मात्रै बिक्री गरेर पुरानो सिलिन्डर नसाट्ने लगायतका गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई आग्रह गर्नुभयो ।
यस्ता गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी उहाँले दिनुभयो । उहाँले ग्यास डिलरहरूले आफ्ना सब–डिलरको प्रभावकारी अनुगमन गर्नुपर्ने, ग्यास आएको र वितरण भएको स्पष्ट अभिलेख राख्नुपर्ने तथा वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । सबैभन्दा पहिलो अधिकार उपभोक्ताको भएकाले उपभोक्तालाई प्राथमिकतामा राखेर सहज र झन्झटरहित रूपमा ग्यास वितरण गर्न उहाँले आग्रह गर्नुभयो ।
छलफलका क्रममा उपभोक्ता हकहित संरक्षणका प्रतिनिधिहरूले ग्यास अभावका नाममा कतै राजनीतिक चलखेल भइरहेको त होइन भन्ने आशंका व्यक्त गरेका थिए । सहभागीहरूले पछिल्लो समय केही डिलरहरूले सब–डिलरलाई पर्याप्त ग्यास उपलब्ध नगराउँदा स्थानीय उपभोक्ता आफैं डिलरसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको र त्यसका कारण बजारमा ग्यासको अभाव भएको जस्तो देखिएको धारणा राखेका थिए ।


ग्यास व्यवसायी संघ मकवानपुरका निर्वतमान अध्यक्ष दिलिस गोविन्द जोशीले हाल देखिएको समस्या क्रमशः समाधान हुँदै जाने बताउनुभयो । ग्यास डिलरमार्फत मात्रै वितरण हुँदा निश्चित डिलरमा धेरै उपभोक्ता पुग्ने र ग्यास अभाव हुन सक्ने आशंकाले कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो । सब–डिलरमार्फत पनि नियमित रूपमा ग्यास उपलब्ध हुने भएपछि यस्तो अवस्था क्रमशः अन्त्य हुने उहाँको भनाइ थियो । सोमबारसम्म बजारमा ग्यासको आपूर्ति सहज हुने उहाँले बताउनुभयो ।
हाल देखिएको अभावको अवस्थालाई ध्यानमा राख्दै सहारा ग्यासले विगतको तुलनामा बढी सिलिन्डर मकवानपुर पठाउने गरेको उद्योगका प्रतिनिधिले बताएका छन् । उहाँले पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्दा बजारमा अभाव देखिएको बताउनुभयो । साउन महिनामा मात्रै सहारा ग्यासले मकवानपुरका लागि १८ हजारभन्दा बढी सिलिन्डर ग्यास पठाइसकेको बताउनुभयो ।
हाल नेपालभर ६१ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् भने देशभर करिब एक करोड ६० लाख ग्यास सिलिन्डर प्रयोगमा रहेका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, सहारा ग्यासका प्रतिनिधि, सिमरा स्थित ग्यास वानका प्रतिनिधि, ग्यास डिलर, उद्योग वाणिज्य सघं, उपभोक्ता हकहित संरक्षणका पलगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*