हेटौँडा कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल
२४ साउन, हेटौंडा । २०५७ साल देखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ ।
सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम सञ्चालन गरेर शनिबार प्रारम्भिक उत्पादन परीक्षण गरेको हो । नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाइ, मेसिनहरूको प्रारम्भिक मर्मत गर्नुका साथै उद्योगको लुम (तान) परीक्षण सञ्चालन गरेको हो । नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक र विभिन्न दर्जाका सैनिक विगत चालिस दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन् ।
हेटौँडा कपडा उद्योगको मर्मत सम्भार गरेर सञ्चालन गर्नका लागि नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले २ महिना भित्र प्रारम्भिक उत्पादन परीक्षण गर्न समयावधि दिएको बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक परीक्षण उत्पादन सफल भएकाले पूर्ण रूपमा उद्योग सञ्चालन गर्न सकिने संकेत मिलेको छ । उद्योगमा पुराना मेसिन मर्मत गरी शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो । परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मत सम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ।

लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो फेसबुक अकाउन्टमा तान चलेको भिडियो सामग्री राख्दै उल्लेख गरेका छन् । यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन गर्ने र त्यसको परिणामका आधारमा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारलाई बुझाएको थियो ।उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको कामसमेत गरिसकेको छ । सरकारले हेटौँडा कपडा उद्योगलाई चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने तयारी गरेको बताएको थियो ।
रुग्ण कपडा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन ठूलो लगानीको खाका तयार पार्दै गर्दा तत्कालका लागि पुराना मेसिन मर्मत गरी प्रारम्भिक काम थाल्न ३३ लाख रुपैयाँ बजेट माग गरिएको थियो । मेसिन मर्मत गरी प्रारम्भिक काम सुरु गर्न ३० लाख रुपैयाँ उपलब्ध गराइएको सहसचिव सुवेदीले बताउनुभयो । रुग्ण उद्योग सञ्चालनको मोडालिटीबारे अध्ययन गर्न गठित कार्यदलले पनि आफ्नो प्रतिवेदन पेस गरिसकेको छ ।

सरकारको ‘एक सय दिने कार्यसूची’ अन्तर्गत रुग्ण उद्योग सञ्चालनमा हेटौँडा कपडा उद्योग पनि रहेको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको थियो । यसले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । राजनीतिक हस्तक्षेप, फितलो व्यवस्थापन र बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द हुन पुगेको थियो ।















