बागमतीमा दलको नेताबाट थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता

स्वर्णिम खबर
२७ श्रावण २०८३, बुधबार १९:०६

२७ साउन, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिनुभयो । १८ जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वास प्रस्ताव दर्ता भएको र पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको थापाले बताउनुभयो । थापाको पक्षबाट पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । पूर्वमन्त्री थापाका अनुसार केही समय अघि भक्तपुरको गुण्डुमा संकलन गरिएको हस्ताक्षर प्रतिनिधि मार्फत दलको सचिवालयमा दर्ता गरिएको हो ।
उक्त दर्ता भएको अविश्वास प्रस्ताव एमाले संसदीय दलको विधानतः ७ दिन भित्र संसदीय दलको बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था रहेको छ । एमाले दल नेताको विषयमा केही समय अघि देखि विवाद हुँदै आएको थियो । उक्त विषयमा पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*