मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्तः सभापति थापा

स्वर्णिम खबर
२४ श्रावण २०८३, आईतवार १६:३९

२४ साउन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप पनि लगाउनुभयो । उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री बालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने उहाँले जिकिर गर्नुभयो । सभापति थापाले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनु भयो । अहिले दिनदिनै मन्त्री र सत्तारुढ दलका सांसदहरुले हप्कि दप्कि दिने गरेको कुराहरु बाहिर आइरहेको भन्दै उहाँले यसले मुलुकलाई ठिक दिशातिर जैजान नसक्ने बताउनुभयो ।
त्यसैगरी सभापति थापाले सातवटै प्रदेशमा काँग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताउनुभयो । उहाँले तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि काँग्रेस नेतृत्वमा रहेको प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्न खोज्दा एमालेसँग कुरा नमिलेको बताउनुभयो । सभापति थापाले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नभएको कारण काँग्रेसले अस्वीकार गरेको बताउनुभयो ।
सभापति थापाले संघीय सरकार र प्रतिपक्ष भुमिकामा रहेको प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*