लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम
२५ साउन, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
काठमाडौंमा सोमवार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्नुभयो । राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उहाँले जोड दिनुभयो ।
मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यको गतिविधिबारे थाहा पाउनुपर्ने उहाँको भनाई छ । मन्त्री गौतमले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको बताउनु भयो । उहाँले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रश्ताव पेश गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाउनु भयो । अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा मन्त्री गौतमले व्यक्त गर्नुभयो ।














