बागमती प्रदेशः पुस १३ गते ज्येष्ठ सदस्यको शपथ, बाँकी सदस्यहरुको शपथ १४ गते

आरती ढकाल
८ पुष २०७९, शुक्रबार १५:२९

८ पुस, हेटौँडा । बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण यही पुस १४ गते हुने भएको छ ।
प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो । प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडामा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ । बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । जेष्ठ सदस्यको शपथ पश्चात अरु १ सय ९ जना सांसदहरुलाई शपथ ग्रहण गराइने उहाँले बताउनुभयो । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्मका लागि ढुंगानाले बैठकको अध्यक्षता गर्नेछन् ।
बागमती प्रदेश सभाको पहिलो बैठक यहि पुस १७ वा १८ गते राख्ने विषयमा प्रदेश प्रमुखसँग सल्लाह हुने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । निर्वाचन आयोगले गएको पुस २ गते प्रदेश प्रमुख शर्मा समक्ष निर्वाचन परिणाम पेश गरेको थियो । संवैधानिक व्यवस्था अनुसार २२ गतेभित्र पहिलो बैठक बसिसक्नुपर्ने हुन्छ । पहिलो बैठक बसेपछि सरकार गठनको प्रकृयाले पूर्णता पाउने उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*