माछाप्लान सडकको गुणस्तरमा स्थानीयले उठाए प्रश्न
१ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित माछाप्लान क्षेत्रमा हालै गरिएको कालोपत्रे सडक निर्माण प्रति स्थानीयवासीले गम्भीर प्रश्न उठाउन थालेका छन् ।
केही दिनअघिमात्र सम्पन्न भएको भनिएको सडक अहिले नै गुणस्तरहीन देखिन थालेपछि निर्माण प्रक्रिया, प्राविधिक अनुगमन तथा बजेट उपयोगितामाथि सार्वजनिक रूपमा शंका उत्पन्न भएको हो ।
सडकको सतह हेर्दा काम योजनाबद्ध र मापदण्डअनुसार गरिएकोभन्दा पनि हतारमा ‘काम सकाउने’ शैलीमा सम्पन्न गरिएको जस्तो देखिने सामाजिक अभियान्ता देवराज गौतमले बताए ।
‘ कतै पिच बाक्लो, कतै अत्यन्त पातलो, कतिपय स्थानमा पुरानै सतह झल्किने अवस्था र केही भाग अधुरो जस्तो देखिनुले निर्माणको विश्वसनीयतामाथि प्रश्न उठेको छ । ’ उनले भने, ‘ पहिले नै कालोपत्रे रहेको सडकमा पुनः पिच थप्नुपर्ने आवश्यकता के थियो ?’
हेटौंडा र काठमाडौ जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ अन्तर्गतको यस सडक मार्गको स्थितिले सम्बन्धित निकायहरु कति जिम्मेवार छन् भनी पुष्टि गरेको छ ।
सडक कुन सरकारी निकाय अन्तर्गत निर्माण गरिएको हो, योजना स्वीकृत कसरी भयो, प्राविधिक लागत अनुमान कस्तो थियो, कामअघि वास्तविक आवश्यकता अध्ययन गरिएको थियो कि थिएन भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक नगरिएको गौतमले बताए ।
‘सडक निर्माणको काम अत्यन्त छोटो समयमा, लगभग रातारात सम्पन्न गरिएको जस्तो देखिन्छ । उनीहरू प्रश्न गर्छन्, “यति छिटो गरिएको काममा गुणस्तर परीक्षण कसरी भयो ? साइटमा प्राविधिक सुपरभिजन थियो कि थिएन ? प्रयोग भएको बिटुमिन तथा अन्य सामग्री मापदण्डअनुसार थिए कि थिएनन् ?’

सडकको सतह अवलोकन गर्दा सुरुको भागमा केही राम्रो गुणस्तर देखिए पनि पछिल्लो भागतिर बिटुमिनको मात्रा कम गरिएको आशंका उब्जिएको स्थानीयको भनाइ छ । कतिपय स्थानमा कालोपत्रे अत्यन्त पातलो देखिनु, रोलरले राम्रोसँग प्रेस नगरिएको अनुभूति हुनु तथा सडक समतल नदेखिनुले प्राविधिक कमजोरीको संकेत गरेको उनीहरूको दाबी छ ।
सम्बन्धित निकायले प्राविधिक प्रतिवेदन, गुणस्तर परीक्षण रिपोर्ट र योजना विवरण सार्वजनिक गर्न पनि स्थानीयहरुले माग गरेका छन् ।
सार्वजनिक पूर्वाधार निर्माणमा हुने लापरवाहीले राज्यप्रतिको नागरिक विश्वास कमजोर बनाउने भन्दै सरोकारवालाहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।












