बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
३१ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १ गते राती १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समपक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा १८३ बमोजिम प्रदेश प्रमुखले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था रहेको छ ।
प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम, बजेट तयारी तथा प्रशासनिक व्यवस्थापनलाई केन्द्रमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
२०८२ चैत्र २४ गते आह्वान भएको हिउँदे अधिवेशनमा जम्मा ४ वटा बैठक बसेको हो । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेश निजामती सेवा नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । प्रदेश निजामती ऐन, २०७९ जारी भएको लामो समय बितिसक्दा समेत नियमावली नबन्दा कर्मचारी व्यवस्थापन, सेवा सञ्चालन तथा प्रशासनिक कार्यसम्पादनमा समस्या हुँदै आएको थियो । अब नियमावली स्वीकृत भएसँगै प्रदेश निजामती सेवामा कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, सेवा सुविधा तथा अनुशासनसम्बन्धी विषय व्यवस्थित हुने मन्त्री तामाङले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा हाल काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई हेटौंडा स्थानान्तरण गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार प्रदेशको स्थायी राजधानी हेटौंडाबाट स्वास्थ्यसम्बन्धी तालिम तथा प्रशासनिक काम सञ्चालन गर्दा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास सरकारको छ । त्यसैगरी, बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा वातावरण संरक्षण ऐन संशोधनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्नुअघि मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरेको छ सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधन गर्न बनेको विधेयक पनि मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो । उच्च शिक्षालाई समयसापेक्ष, गुणस्तरीय तथा प्रदेशको आवश्यकता अनुसार व्यवस्थापन गर्न ऐन संशोधन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।












