पत्रकार महासंघ मकवानपुरको साधारणसभा स्थगित
३ जेठ, काठमाडौँ । यही जेठ ९ गते हुने भनिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १९ औं साधारणसभा स्थगित भएको छ ।
आइतबार बसेको कार्यसमिति बैठकले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । सदस्यता नवीकरण गर्न बाँकी रहेको जनाउँदै साधारणसभा स्थगित गरिएको महासंघका सचिव केशव समर्पण सुवेदीले जानकारी दिनुभयो ।
सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरुलाई साधारणसभामा सहभागी हुन तथा सदस्यता कायम राख्न २०८३ जेठ १८ गतेसम्म अनिवार्य रुपमा नवीकरण गरिसक्न पनि महासंघले अनुरोध गरेको छ ।
१२ औं अधिवेशन अघि भएको सदस्यता शुद्धिकरण अभियानको क्रममा आन्तरिक छलफलको कारण करिब १ वर्ष अलमल भएको र २०८१ सालको नवीकरण छुट भएका कारण यसअघिको २०८१ मंसिर २८ गतेको निर्वाचनमा भाग लिएका पुराना सदस्यहरुको २०८१ सालको समेत सदस्यता शुल्क संकलन गर्ने निर्णय भएको सचिव सुवेदीले बताउनुभयो । उहाँका अनुसार २०८१ सालमा नयाँ सदस्यता प्राप्त गरेका सदस्यहरुको हकमा १ वर्षको र २०८१ मंसिर अघि नै सदस्यता कायम रहेकाहरुले २ वर्षको सदस्यता शुल्क बुझाउनुपर्नेछ ।












