नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण पराजुलीको उम्मेदवारी

स्वर्णिम खबर
२९ बैशाख २०८३, मंगलवार ०८:४६

२९ वैशाख, हेटौँडा । गण्डकी प्रदेशको पोखरामा सोमबारबाट सुरु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं महाधिवेशनमा मकवानपुरका अनुभवी यातायात व्यवसायी गोकर्ण प्रसाद पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
यातायात क्षेत्रका अनुभव तथा इमानदारी नेतृत्वको रुपमा परिचित पराजुली नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा यस अघि विज्ञ सल्लाहकार थिए भने निवर्तमान कार्यसमितिमा केन्द्रीय सदस्य थिए । निर्वाचन आज २९ गते मंगलबार हुदैछ ।
नेपालको यातायात क्षेत्र अनेकौँ चुनौती, असहज नीति, व्यवसायिक असुरक्षा र बदलिँदो परिस्थितिबीच संघर्षरत रहेको बेला आफूले योगदान गर्न सो पदको लागि उम्मेदवारी दिएको पराजुलीले बताए । “यस्तो परिस्थितिमा मेरो अनुभव विगतमा यसै क्षेत्रमा गरेको संघर्ष र व्यवहारिक ज्ञानको सदुपयोग गर्न खोजेको हुँ” पराजुलीले भने ।
व्यवसायीको हक, सम्मान र सुरक्षित भविष्य नै आफ्नो अठोट भएको पराजुलीले बताए । आफु वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएमा हाल विभाजित महासंघलाई एकताको सूत्रमा बाँध्ने उनले बताए ।
“विभिन्न धार र संरचनामा रहेका यातायातसम्बन्धी महासंघ तथा संगठनहरूलाई एउटै साझा छातामुनि ल्याई बलियो, एकीकृत र प्रभावकारी संगठन निर्माण गर्न निरन्तर पहल गर्नेछु” पराजुलीले भने । एकताबद्ध महासंघ नै व्यवसायीको अधिकार सुनिश्चित गर्ने बलियो आधार हो भन्नेमा उनीले विश्वास व्यक्त गरे ।
यसैगरी महासंघको आफ्नै आधुनिक भवन निर्माण, राज्यसँग प्रभावकारी नीतिगत पैरवीमा आफ्नो पहल हुने उले आफ्नो प्रतिवद्धतामार्फत सार्वजनिक गरेका छन् । महासंघको संस्थागत मजबुती, गरिमा र पहिचानका लागि महासंघको आफ्नै आधुनिक भवन निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने पराजुलीको प्रतिवद्धता रहेको छ ।
यातायात व्यवसायीहरूको पक्षमा राज्यसँग प्रभावकारी संवाद, सहकार्य र दबाबमार्फत व्यवसायीमैत्री नीति निर्माण गराउन सशक्त भूमिका खेल्ने, कर, बीमा, जरिवाना, नवीकरण, बैंक ब्याजलगायत व्यवसायीका जटिल समस्याको समाधानमा निरन्तर खटिने, सबैखाले सवारी धनीहरूको साझा प्रतिनिधित्व गर्दै मालवाहक, यात्रुवाहक, इन्धन ढुवानी, साना तथा मझौला सवारीसाधन धनीहरू—सबै व्यवसायीहरूको साझा आवाजका रूपमा अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघ कुनै सीमित वर्गको नभई सम्पूर्ण यातायात व्यवसायीहरूको साझा घर बन्नुपर्ने र यसको लागि आफ्नो भूमिका रहने उनले बताए ।
यसै गरी दुर्घटनापीडित व्यवसायीका लागि राहत प्रणाली सुदृढीकरण गर्ने योजना उनले अघि सारेका छन् । यातायात क्षेत्रमा हुने कहालीलाग्दा दुर्घटनाबाट पीडित व्यवसायीहरूलाई राहत प्रदान गर्न छुट्टै कोष स्थापना गरी हित सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरेको अनुभवलाई थप सुदृढ बनाउँदै भविष्यमा अझ प्रभावकारी राहत प्रणाली निर्माणमा पहल गर्नेछु उनको प्रतिवद्धतामा भनिएको छ ।

को हुन् पराजुली
नारायणी यातायात व्यवसायी संघमा सचिव, कोषाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भएर सफल नेतृत्व निर्वाह गरेका पराजुली मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्ष भई इन्धन ढुवानी क्षेत्रका व्यवसायीहरूको हकहितमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष भई राष्ट्रिय स्तरमा यातायात व्यवसायीहरूको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी मकवानपुर उद्योग वाणिज्य संघको महासचिव भई निजी क्षेत्र र व्यवसायिक हित संरक्षणमा सक्रिय योगदान गरेको अनुभव समेत छ ।
यसैगरी दुर्घटनाबाट प्रभावित यातायात व्यवसायीहरूको राहत र संरक्षणका लागि हित कोष सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्ने पराजुली यातायात क्षेत्रमा अनुभवले खारिएको नेतृत्व मानिन्छन् । संघर्षबाट स्थापित पहिचान, सबैखाले व्यवसायीको साझा आवाज, काम गर्ने स्पष्ट दृष्टिकोण र योजना भएका एकता, सम्मान र सुरक्षित व्यवसायको प्रतिबद्धता भएको व्यक्ति भएकाले आफूहरुको रोजाइको उम्मेदवारी रहेको मकवानपुरका एक यातायात व्यवसायीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*