वन्यजन्तुको गर्जनदेखि देवघाटको आध्यात्मिक शान्तिसम्म
जहाँ जंगलको हरियालीले प्रकृतिको कथा भन्छ भने नदीका तरंगले सभ्यताको स्मृति बोकेर बगेका छन् ।हिमाललाई नजिकबाट नियाल्ने डाँडाहरु छन् भने इतिहास बोल्ने गढीहरुपनि ।श्रद्धाले भरिएका तीर्थस्थलहरु आस्थाका केन्द्र बनिरहेका ।यी सबै एकैठाउँमा सजिएको भूमि हो, चितवन। वन्यजन्तु सफारीबाट विश्वभर परिचित बनेको चितवन आज प्रकृति, संस्कृति, इतिहास र धार्मिक पर्यटनको संगमस्थलका रुपमा नयाँ परिचय निर्माण गरिरहेको छ।
नेपालको मध्यभागमा अवस्थित चितवन भौगोलिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले देशकै महत्वपूर्ण जिल्ला हो। पूर्व–पश्चिम राजमार्गको मुख्य मार्गमाबागमती प्रदेश राजधानी हेटौंडा नजिकै रहेको चितवनबाटसंघीय राजधानी काठमाडौं, पर्यटकीय सहर पोखरा तथा आर्थिक केन्द्र वीरगञ्ज र भैरहवा लगभग समान दूरीमा छन्। यही सहज पहुँचले चितवनलाई देशको प्रमुख पर्यटन केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
लामो समयसम्म चितवनको परिचय वन्यजन्तु सफारीमा सीमित थियो। तर पछिल्ला वर्षहरुमा यहाँको पर्यटन जंगलबाट गाउँसम्म, नदी किनारदेखि पहाडका टाकुरासम्म र धार्मिक धामदेखि ऐतिहासिक सम्पदासम्म विस्तार भएको छ। आज चितवन केवल गैँडा र बाघ हेर्ने गन्तव्य मात्र नभई संस्कृति बुझ्ने, प्रकृतिसँग रमाउने, इतिहास खोज्ने र अध्यात्ममा डुब्ने बहुआयामिक पर्यटन गन्तव्य बनेको छ।
निकुञ्ज बन्यो पर्यटनको मेरुदण्ड
चितवनको चर्चा गर्दा सबैभन्दा पहिले स्मरणमा आउने नाम होचितवन राष्ट्रिय निकुञ्ज। सन् १९७३ मा स्थापना भएको यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो भने सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो। करिब ९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्ज नेपालको संरक्षण इतिहासको सफल उदाहरण मानिन्छ।
निकुञ्जको सबैभन्दा ठूलो विशेषता यसको जैविक विविधता हो। यहाँ दुर्लभ एकसिङ्गे गैँडा, बंगाल टाइगर, जंगली हात्ती, चितुवा, घडियाल गोही, अजिङ्गर, चित्तल, रतुवालगायत सयौँ प्रजातिका वन्यजन्तु पाइन्छन्। यस क्षेत्रभित्र ६०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् । जसले चरा अवलोकनका लागि पनि चितवनलाई विशेष गन्तव्य बनाएको छ।
राप्ती, नारायणी र रेउ नदीले घेरिएको निकुञ्जभित्र जंगल सफारी, जीप सफारी, डुङ्गा सयर, जंगल वाक, चराचुरुङ्गी अवलोकन तथा हात्ती प्रजनन केन्द्र अवलोकन प्रमुख आकर्षणका रुपमा रहेका छन्। यहाँ पुग्ने पर्यटकले वन्यजन्तुलाई प्राकृतिक बासस्थानमै स्वतन्त्र रूपमा विचरण गरिरहेको दृश्य नजिकबाट हेर्न पाउँछन्। ‘म त ६–७ पटक राष्ट्रिय निकुञ्जको सफारी गर्न, यहाँको थारु प्रिकार खान चितवन आइसकेँ । जति पटक आउँछु त्यति मन तान्छ मेरो चितवनले ।’ परिवारसहित सौराहमा भेटिएकी काठमाडौंकी मिना ज्ञवाली भन्छिन् ।
निकुञ्ज घुम्न विदेशी पर्यटकको घुँइचो नै लाग्छ । निकुञ्जले संरक्षणसँगै पर्यटन, रोजगारी, होटल व्यवसाय, यातायात र स्थानीय सेवा क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ। संरक्षण र विकासबीचको सन्तुलित अभ्यासका कारण चितवन राष्ट्रिय निकुञ्ज नेपालको पर्यटनको मेरुदण्डका रुपमा स्थापित भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा परिचित सौराहा आज नेपालको सबैभन्दा चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये एक हो। राप्ती नदी किनारमा अवस्थित सौराहाले प्राकृतिक सौन्दर्य, वन्यजन्तु अवलोकन र थारु संस्कृतिलाई एउटै फ्रेममा समेटेको छ।यहाँ आउने अधिकांश पर्यटकको पहिलो गन्तव्य जंगल सफारी भए पनि सौराहाको आकर्षण त्यतिमै सीमित छैन। साँझपख राप्ती किनारमा देखिने सूर्यास्त, थारु सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकार तथा परम्परागत जीवनशैलीले पर्यटकलाई फरक अनुभूति दिन्छ।
सौराहामा विभिन्न स्तरका होटल, रिसोर्ट, होमस्टे र फार्म हाउस सञ्चालनमा छन्। पछिल्ला वर्षहरुमा पदयात्रा, हाइकिङ र ग्रामीण जीवनशैली अनुभव गर्न सकिने फार्म हाउसको अवधारणाले पनि गति लिएको छ।
स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ सौराहा नै रहेको पर्यटन व्यवसायीहरु बताउँछन्। पर्यटन विकाससँगै यहाँ सुविधासम्पन्न पूर्वाधारको विस्तार भएको छ । जसले स्थानीय समुदायलाई आयआर्जन र रोजगारीका अवसर प्रदान गरेको छ।
शान्त प्रकृतिको नयाँ आकर्षण
चितवनको पर्यटन विस्तारसँगै पश्चिमी क्षेत्रका पटिहानी र मेघौली नयाँ आकर्षणका रुपमा उदाएका छन्।चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सीमासँग जोडिएको पटिहानी शान्त वातावरण, हरियाली वन क्षेत्र र राप्ती नदीको रमणीय दृश्यका कारण परिचित छ। यहाँबाट वन्यजन्तु अवलोकन, जंगल भ्रमण, डुङ्गा सयर, चरा अवलोकन र ग्रामीण जीवनशैलीको अनुभव लिन सकिन्छ। रिसोर्ट र होमस्टेहरुले पर्यटकलाई स्थानीय संस्कृतिसँग नजिक बनाउने अवसर प्रदान गरिरहेका छन्।
त्यस्तै राप्ती र नारायणी नदीको संगम क्षेत्र नजिक रहेको मेघौली प्राकृतिक सौन्दर्य र शान्त वातावरणका लागि प्रसिद्ध छ। यहाँबाट देखिने सूर्यास्तको दृश्य पर्यटकका लागि विशेष आकर्षण हो। नदी, जंगल र वन्यजन्तुको संयोजनले मेघौलीलाई संरक्षणमैत्री पर्यटनको उत्कृष्ट उदाहरण बनाएको छ। पछिल्लो दशकमा पूर्वको कुमरोजदेखि पश्चिमको मेघौली र नवलपुरसम्म पर्यटन पूर्वाधार तीव्र रुपमा विस्तार भएको छ। ठूला लगानीका रिसोर्ट, होटल र साना होमस्टेहरुले यस क्षेत्रको पर्यटनलाई नयाँ उचाइ दिएका छन्।पर्यटन व्यवसायी नवीन नेपाल भन्छन्, ‘चितवनमा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका होटल सञ्चालनमा छन्। अन्तर्राष्ट्रिय व्यवस्थापनमा सञ्चालन हुने होटलको संख्या थपिनेक्रम जारी रहेको छ।’
बीस हजारी तालः चराहरुकोबासस्थान
चितवनको अर्को महत्वपूर्ण प्राकृतिक सम्पदा बीस हजारी ताल पनि हो । यो क्षेत्र विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जलचर जीवहरुको महत्वपूर्ण बासस्थानका रुपमा परिचित छ।शान्त वातावरण, प्राकृतिक सौन्दर्य र जैविक विविधताका कारण बीस हजार ताल अनुसन्धान तथा पर्यावरणीय अध्ययनका लागि पनि महत्वपूर्ण मानिन्छ। चराचुरुङ्गी अवलोकन गर्न चाहने पर्यटकका लागि यो क्षेत्र विशेष आकर्षणको केन्द्र बनेको छ।
श्रद्धा र शान्तिदेवघाट धाम
वन्यजन्तु पर्यटनसँगै चितवन धार्मिक पर्यटनको पनि महत्वपूर्ण केन्द्र हो। यसको प्रमुख आधार देवघाट धाम छ।चितवन र तनहुँको सीमामा अवस्थित देवघाटमा कालीगण्डकी र त्रिशूली नदीको संगम भई नारायणी नदीको उत्पत्ति हुन्छ। यही कारण देवघाट हिन्दू धर्मावलम्बीहरूको अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ।
माघे सङ्क्रान्तिको अवसरमा हजारौँ श्रद्धालु यहाँ स्नान, पूजा र धार्मिक अनुष्ठानका लागि पुग्छन्। रामजानकी मन्दिर, शिवालय, वैष्णव आश्रम तथा अन्य धार्मिक संरचनाहरुले देवघाटको महत्वलाई अझ उचाइ दिएका छन्।धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको अनुभूति गर्न सकिने भएकाले देवघाट धार्मिक तथा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्र बनेको छ।
प्रकृतिकले उपहार दिएको जलविरे झरना
इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलविरे झरना पछिल्लो समय तीव्र रुपमा लोकप्रिय बनेको पर्यटकीय गन्तव्य हो। पृथ्वी राजमार्ग नजिकै रहेको यो झरना पहाडको काखबाट ठूलो वेगका साथ खस्ने मनोरम दृश्यका कारण चर्चित छ।
विशेषगरी गर्मी मौसममा यहाँ पर्यटकको चाप बढ्ने गर्दछ। चिसो पानीमा रमाउन, तस्बिर खिच्न र प्राकृतिक वातावरणको आनन्द लिन विभिन्न जिल्लाबाट पर्यटकहरु यहाँ पुग्ने गर्छन्।पर्यटक आगमनसँगै स्थानीय स्तरमा होटल, रेष्टुरेन्ट, चिया पसल लगायतका व्यवसाय फस्टाएका छन्। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।
यसैगरी, इच्छाकामना गाउँपालिका–१ मा अवस्थित सिराइचुली चितवनको सबैभन्दा अग्लो डाँडा हो। समुद्री सतहबाट करिब १,९४५ मिटर उचाइमा रहेको यस स्थानबाट अन्नपूर्ण, मनास्लु, गणेश हिमाल र लाङटाङ हिमशृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।सूर्योदय र सूर्यास्तका लागि प्रसिद्ध सिराइचुलीमा पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकको आकर्षण उल्लेखनीय रुपमा बढेको छ। घना जंगल, जैविक विविधता र शान्त वातावरणले यस क्षेत्रलाई प्रकृतिप्रेमीहरुको प्रिय गन्तव्य बनाएको छ।
उपरदाङगढी र चितवनको गौरव
समुद्री सतहबाट करिब १,२७५ मिटर उचाइमा रहेको उपरदाङगढी चितवनको ऐतिहासिक गौरव बोकेको गन्तव्य हो। नेपाल एकीकरण अभियानअघिको राजनीतिक तथा सामरिक महत्व बोकेको यो गढी कुनै समय प्रशासनिक केन्द्रका रुपमा पनि परिचित थियो ।
यहाँ रहेका पुराना दरबारका अवशेष, पर्खाल तथा ऐतिहासिक संरचनाहरुले नेपालको इतिहासको महत्वपूर्ण कालखण्डको झल्को दिन्छन्। गढीबाट चितवन, तनहुँ, गोरखा लगायतका क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।गढी वरपर चेपाङ, मगर र गुरुङ समुदायको बसोबास छ। त्यसैले यहाँ पुग्ने पर्यटकले स्थानीय संस्कृति र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सक्छन् ।
शक्तिखोर र चेपाङ हिल ट्रेल
शक्तिखोर प्राकृतिक सौन्दर्य, चेपाङ संस्कृतिको संरक्षण तथा ग्रामीण पर्यटनका लागि परिचित क्षेत्र हो। चेपाङ हिल ट्रेलको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा झरना, गुफा, होमस्टे, चेपाङ संग्रहालय तथा हरियाली पहाड पर्यटकका आकर्षण बनेका छन् ।
अहिले शक्तिखोरको माथिल्लो क्षेत्र लटौलीमा आकर्षक रिसोर्टहरु सञ्चालनमा आएका छन्। कृषि पर्यटन, जैविक विविधता र ग्रामीण जीवनशैली अनुभव गर्न चाहनेहरुका लागि यो क्षेत्र विशेष आकर्षण बन्दै गएको छ।होटल व्यवसायी महासंघ चितवनका अध्यक्ष ऋषिकेश अर्याल भन्छन्, ‘चितवनमा पर्यटक आगमनको सुरुवात वन्यजन्तु सफारीबाट सुरुवात भएपनि पछिल्ला केही समय यता विभिन्न पर्यटकीय स्थल, धार्मिक धामहरु लगायत विभिन्न मध्यवर्ती वनहरुको पनि अवलोकन गर्न पछिल्लो समय आन्तरिक र बाह्य पर्यटन भित्रिएका छन् ।’
कुनै समय सौराहामा सीमित रहेको चितवनको पर्यटन अहिले पूर्वको पिप्ले र कुमरोजदेखि पश्चिमको नवलपुरसम्म फैलिएको छ। राप्ती र नारायणी किनारमा स्तरीय होटल तथा रिसोर्ट निर्माण भएका छन्। ग्रामीण क्षेत्रहरुमा होमस्टे विस्तार भएका छन्।होटल व्यवसाय संघ चितवनका अध्यक्ष ऋषि केश अर्याल भन्छन्, ‘अहिले चितवनमा आफ्नो खर्च क्षमता अनुसारको होटल रिसोर्ट रोजेर बस्न सक्ने अवस्था छ।’ उनका अनुसार पछिल्लो समय चितवनमा सेवामुखी पर्यटन व्यवसाय उल्लेखनीय रुपमा फस्टाएको छ ।
वन्यजन्तु सफारीबाट विश्वभर परिचित बनेको चितवन आज बहुआयामिक पर्यटनको उत्कृष्ट उदाहरण बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, सौराहाको सांस्कृतिक जीवन, पटिहानी र मेघौलीको प्राकृतिक शान्ति, देवघाटको धार्मिक आस्था, जलविरेको झरना, उपरदाङगढीको इतिहास, शक्तिखोरको ग्रामीण जीवनशैली र सिराइचुलीको हिमाली दृश्ययी सबैले चितवनलाई एउटा पूर्ण पर्यटन गन्तव्यका रुपमा स्थापित गरेका छन् ।



















