अर्थमन्त्रीलाई नगर प्रमुखको प्रश्नः ‘बैंक टल्कने, घर–पसल भत्किने, नागरिक कसरी खुशी ?’

अर्थमन्त्रीको जवाफः विचाराधिन मुद्धामा टिप्पणी गर्न मिल्दैन
स्वर्णिम खबर
७ असार २०८३, आईतवार १२:५७

७ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयलाई छिटो टुंगोमा पु¥याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आग्रह गर्नुभएको छ ।
नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सडक विस्तारका कारण प्रभावित घरधनी तथा व्यवसायीलाई उचित क्षतिपूर्ति र व्यवस्थापनसहित समाधान दिनुपर्ने बताउनुभयो । उहाँले हेटौंडावासी, व्यवसायी तथा स्थानीय सरकार सबैले विकाससँगै स्पष्ट निकास चाहेको उल्लेख गर्दै लामो समयसम्म अनिर्णयको अवस्थाले नागरिकलाई पीडित बनाउन नहुने धारणा राख्नुभयो ।
नगर प्रमुख लामाले विगत पाँच दशकदेखि हेटौंडावासी २५ मिटर र ३१ मिटर सडक सीमाको अन्योल र त्रासमा बाँच्न बाध्य भएको बताउनुभयो । सडक विस्तारका क्रममा पर्याप्त तयारी र स्पष्टता बिना बजार क्षेत्रमा डोजर चलाइएको स्मरण गर्दै उहाँले भत्किएका तथा आधा भत्किएका संरचनामा व्यवसाय सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलमा व्यवसायीहरू रहेको उल्लेख गर्नुभयो । स्थानीय सरकार नागरिकको घरआँगनको सरकार भए पनि नागरिकसामु जवाफदेही बन्न कठिन अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । नगर प्रमुख लामाले “बैंक टिलिक्क टल्कने तर बैंक अगाडिका घर र पसल भत्किएका अवस्थामा नागरिक कसरी खुशी हुन्छन् ?” भन्दै प्रश्न गर्नुभयो । उहाँले नागरिकको अनुहारमा खुशी र आत्मविश्वास देखिएपछि मात्र विकासको वास्तविक अनुभूति हुने धारणा राख्नुभयो ।
जवाफमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौंडा सडक विस्तारको विषयमा सरकार पूर्ण रूपमा जानकार रहेको बताउनुभयो । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यस विषयमा विस्तृत टिप्पणी गर्न नमिल्ने उल्लेख गर्दै उहाँले सडक विस्तारसम्बन्धी समस्या समाधान गरी निकास दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
सडक डिभिजन कार्यालय हेटौंडाले २०८२ मंसिर २० गते एकै दिन करिब ७ किलोमिटर सडक क्षेत्रभित्र पर्ने पाँच सयभन्दा बढी घरटहरा भत्काएको थियो। त्यसयता ‘सुन्दर नगरी’को उपमाले परिचित हेटौंडा बजार क्षेत्र अस्तव्यस्त बनेको छ । सडक र पेटीमा छरिएका ढुंगा, इँटा तथा फलामका टुक्राले पैदलयात्री र सवारी चालक दुवैलाई जोखिम बढाएको छ भने प्रभावित व्यवसायीहरू पनि अनिश्चितता र आर्थिक समस्यासँग जुधिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*