हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
२ असार, हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावनाबारे अध्ययन तथा आवश्यक तयारी थालिएको छ ।
संघीय सरकारले कपडा उद्योग पुनः सञ्चालन गर्ने चासो देखाएसंगै स्थानीय सरकारले पनि सक्रियता देखाएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले उद्योग परिसरको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उद्योगको वर्तमान भौतिक अवस्था, उपलब्ध पूर्वाधार, सञ्चालनका लागि आवश्यक सुधार तथा सम्भावित व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो । निरीक्षण टोलीले उद्योग पुनः सञ्चालनका लागि आवश्यक संरचनागत सुधार, उपकरणको अवस्था तथा लगानीका सम्भावनाबारे छलफल गरेका थिए । स्थानीय सरकार र संघीय सरकारबीचको समन्वय तथा सहकार्य मार्फत उद्योग पुनर्जीवनको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।
यसअघि गत जेठ ९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपडा उद्योगको निरीक्षण गर्नुभएको थियो । सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५÷३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । चिनियाँ सरकारको सहयोगमा स्थापना भएको उक्त उद्योग रुग्ण अवस्थामा पुगेको छ । जीर्ण अवस्था पुगेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा उक्त रुग्ण उद्योग पुनः सञ्चालनको सूचीमा पर्ने र चर्चामा आउने गरेको छ ।
कुनै समय नाफा गएर कर्मचारी कामदारलाई बोनस बाँड्ने अवस्थामा पुगेको उक्त उद्योग आन्तरिक समस्या र प्रतिस्पर्धामा टिक्न नसकेर वि.सं. २०५७ साल फागुन १ गतेबाट बन्द भएको थियो । उद्योगमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीको दायित्व भुक्तानी गर्दै तत्कालीन सरकारले उद्योग बन्द गर्ने निर्णय गरेको हो । उद्योगमा रहेका मेसिनरी प्लान्ट अहिले पूर्ण रूपमा खिया लागेको अवस्थामा छन् । मर्मत–सम्भार गर्दा ती काम लाग्ने अवस्थामा ल्याउन असम्भव छ । उद्योगको सम्पूर्ण शाखाको भवन र आवास गृहको छानाबाट पानी चुहिने, फल्स सिलिङ काम नलाग्ने र भवनको वालमा समेत चिरा परेको छ ।
कपडा उद्योगको हालको संरचना १६५ रोपनी क्षेत्रफल रहेको छ । हाल हेटौंडा कपडा उद्योग औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ भने उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ ।













