११ जिल्लाका रेडक्रस शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण
२८ जेठ, हेटौँडा । प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाले ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ ।
बिहीबार स्वास्थ्य आपूर्ति केन्द्रमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापा मगर ले संयुक्त रूपमा ११ वटा रेडक्रस जिल्ला शाखालाई रेफ्रिजेरेटर हस्तान्तरण गर्नुभएको हो । रक्तसञ्चार सेवा सञ्चालन भइरहेका सिन्धुपाल्चोक र रसुवा बाहेकका ११ जिल्लामा उक्त उपकरण वितरण गरिएको हो । उपकरण खरिदका लागि बोलपत्र आह्वान गरी प्रति युनिट २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँका दरले कुल ३१ लाख रुपैयाँमा खरिद सम्झौता गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले रेडक्रसलाई उपलब्ध गराइएको रेफ्रिजेरेटर सहयोग मानव सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । द्वन्द्वकालदेखि प्राकृतिक विपद्सम्म रेडक्रसले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले रक्तसञ्चार सेवाको प्रभावकारिता अझ बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले ब्लड म्याचिङ प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक व्यवस्था गरिने आश्वासन दिनुभयो । उहाँले रगत भण्डारण अत्यन्त संवेदनशील विषय भएकाले प्राविधिक दक्षता, सतर्कता र निरन्तर निगरानी आवश्यक रहेको धारणा राख्नुभयो । विद्युत आपूर्ति अवरुद्ध भएको अवस्थामा समयमै वैकल्पिक व्यवस्था नहुँदा ठूलो परिमाणमा रगत नष्ट हुन सक्ने र त्यसले बिरामीको जीवन नै जोखिममा पार्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले रक्तसञ्चार सेवाको दिगोपना र सुरक्षित रगत भण्डारण सुनिश्चित गर्न प्रदेश सरकारले रेफ्रिजेरेटर सहयोग उपलब्ध गराएको बताउनुभयो । रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकहरूले प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापाका अनुसार ब्लड बैंकले लिने सेवा शुल्क प्रदेश सरकारले व्यहोर्दै आएकाले नागरिकले निःशुल्क रूपमा रगत प्राप्त गर्ने वातावरण बनेको छ । उहाँले आगामी दिनमा रेडक्रससँग थप सहकार्य गर्दै स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणमा मन्त्रालयले साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष २०८२÷८३ मा निःशुल्क रक्तसञ्चार सेवाअन्तर्गत रेफ्रिजेरेटर खरिदका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । हस्तान्तरण गरिएका रेफ्रिजेरेटरहरू २२० लिटर क्षमताका छन्, जसमा करिब १५० वटा ब्लड ब्याग सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ । उपकरणमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट तथा डाटा लगरजस्ता आधुनिक प्रविधि जडान गरिएको छ । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्रकुमार झा, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सभापति भोला थापा तथा ११ जिल्लाका रेडक्रस शाखाका सभापतिहरूको उपस्थिति रहेको थियो ।













