विभेदकारी विज्ञापन नीति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाइयो
२५ जेठ, हेटौँडा । सरकारी सूचना तथा विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि विभेद गरिएको भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ मकवानपुरले संकलन गरेको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष पठाएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत जेठ ७ गतेदेखि सुरु गरिएको हस्ताक्षर अभियानबाट संकलित हस्ताक्षरहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई बुझाइएको हो । हस्ताक्षर बुझाउने कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, शाखाका पदाधिकारी तथा जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
महासंघले खर्च कटौतीको नाममा संघीय, प्रदेश तथा स्थानीय तहका सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयले प्रेस स्वतन्त्रता कमजोर पार्ने र निजी सञ्चारमाध्यमलाई विभेद गर्ने काम गरेको जनाएको छ । यस्तो नीतिले सञ्चार क्षेत्रको प्रतिस्पर्धात्मक वातावरण र नागरिकको सूचना प्राप्त गर्ने अधिकारमा समेत असर पुग्ने महासंघको धारणा छ ।
महासंघले विभेदकारी सूचना तथा विज्ञापनसम्बन्धी निर्णय तत्काल खारेज गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको संरक्षण गर्न तथा आम नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न माग गर्दै विगत दुई महिनादेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
महासंघले सार्वजनिक गरेको आन्दोलनको पछिल्लो तालिकाअनुसार जेठ २७ र २९ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम आयोजना गरिनेछ भने असार १ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिइनेछ । यस्तै असार ५ गते केन्द्रीय समितिको नेतृत्वमा सञ्चारसम्बद्ध पेशागत संघसंस्था र सरोकारवालाको सहभागितामा वृहत् ऐक्यबद्धता ¥याली आयोजना गरिने महासंघले जनाएको छ ।













