८ मन्त्रालय मातहत १९१ कार्यालय मात्र कायम गर्ने बागमती प्रदेश सरकारको निर्णय

अपाङ्गता नीति र र्‍याफ्टिङ स्कुललाई पनि स्वीकृति
स्वर्णिम खबर
२१ जेष्ठ २०८३, बिहीबार १९:१२

२१ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक पुनर्संरचना गर्दै प्रदेश अन्तर्गतका कार्यालयहरूको संख्या घटाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८ मन्त्रालय मातहत १९१ कार्यालय मात्र कायम रहने गरी संगठन संरचना पुनर्गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार यसअघि रहेका २०१ कार्यालयमध्ये केहीलाई एकआपसमा गाभ्ने, केहीलाई खारेज गर्ने र आवश्यकताअनुसार नयाँ कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा गरिएको पुनर्संरचनाले अस्थायी तथा दोहोरो प्रकृतिका कार्यालय हटाएर प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । मन्त्रिपरिषद् बैठकले कर्मचारी व्यवस्थापनतर्फ पनि महत्वपूर्ण निर्णय गरेको छ ।
स्वास्थ्य सेवातर्फ कार्यरत उपसचिवद्वय सागरप्रसाद घिमिरे र सतीस विष्टलाई ११ औँ तहमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो । त्यसैगरी संस्कृति तथा पर्यटन मन्त्रालयको प्रस्तावमा प्रदेशमा र्‍याफ्टिङ स्कुल सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
सरकारले साहसिक पर्यटन प्रवद्र्धन र दक्ष जनशक्ति उत्पादनका लागि उक्त कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएको छ । बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति, २०८३’ पनि स्वीकृत गरेको छ । उक्त नीतिले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, पहुँच अभिवृद्धि तथा जीवनस्तर सुधारका लागि आवश्यक कार्यक्रम र कार्ययोजना निर्माण गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको मन्त्री तामाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*