वर्तमान सत्ताले लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ तर्फ लैजान खोज्योः सभापति थापा
१६ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सत्ता समीकरणले मुलुकको लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ तर्फ धकेल्न खोजेको आशंका व्यक्त गर्नुभएको छ ।
सानेपामा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकहरूमा विद्यमान आक्रोशको जगमा उभिएर बनेको वर्तमान सत्ताले जनताको सोही भावनालाई दुरुपयोग गर्दै व्यवस्थालाई नै संकुचित पार्न खोजेको उहाँको तर्क छ । सभापति थापाले गणतन्त्रको स्वरुप र कार्यशैलीमा सुधारको अपेक्षा राखेका नागरिकको आक्रोशलाई सत्ताले गलत दिशातिर मोडिरहेको टिप्पणी गर्नुभयो । सभापति थापाले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक जगलाई बलियो बनाउनुको सट्टा शक्ति केन्द्रित गर्ने र व्यवस्थालाई नियन्त्रित गर्नेतर्फ सरकार उद्यत देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो । थापाले वर्तमान राजनीतिक व्यवस्था (गणतन्त्र) नागरिकको तन्त्र हुन नसकी केही सिमित नेताहरूको शासनमा खुम्चिएको टिप्पणी गर्नुभयो । सभापति थापाले संविधानले परिकल्पना गरेको गणतन्त्र व्यवहारमा लागू हुन नसकेको बताउँदै यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यस्तो अवस्थामा काँग्रेस दरिलो रूपमा उभिनुपर्ने र गणतन्त्रलाई वास्तविक अर्थमा नागरिकको तन्त्र बनाउन काम गर्नुपर्ने बताउनु भयो ।
लोकतान्त्रिक प्रणालीमा विधिको शासन सर्वोपरी हुने उल्लेख गर्दै उहाँले कानूनभन्दा माथि प्रधानमन्त्री लगायत कोही पनि हुन नसक्ने स्पष्ट पार्नुभयो । सभापति थापाले परिणाम मात्र स्वच्छ भएर नपुग्ने भन्दै त्यसलाई प्राप्त गर्ने प्रक्रिया पनि उत्तिकै पारदर्शी र स्वच्छ हुनुपर्ने बताउनु भयो ।













