बागमती प्रदेश सरकारले ३ दिन गणतन्त्र दिवस मनाउने
११ जेठ, हेटौँडा ।१९ औं गणतन्त्र दिवस बागमती प्रदेश सरकारले विविध कार्यक्रम गरी तीन दिन मनाउने भएको छ ।
गणतन्त्र दिवस २०८३ बागमती प्रदेश मुल समारोह समितिको सोमबार बसेको बैठकले जेठ १३, १४ र १५ गते ३ दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा ४३ सदस्यीय गणतन्त्र दिवस मुल समारोह समिति समेत गठन गरिएको छ । जेठ १३ गते ‘गणतन्त्र स्थापनाको १८ वर्षः कार्यान्वयन र चुनौती’ विषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिने भएको छ ।
त्यसैगरी, जेठ १४ गते रक्तदान कार्यक्रम एवम् निःशुल्क स्वास्थ्य शिविर र वृक्षारोपण कार्यक्रम गरिने समितिका अध्यक्ष एवम् मुख्यमन्त्री बानियाँले जानकारी दिनुभयो । दिवसको मुख्यदिन जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा मुल समारोह हुने छ । समारोहमा स्थानीय संस्कृति तथा भेषभुषा झल्कने झाँकी समेत प्रस्तुत गरिने भएको छ ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ४ जना पत्रकारहरुलाई नगद ५० हजार रुपैंया सहित पुरस्कृत समेत गरिने समितिले जनाएको छ । सोही दिन हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापनमा सरसफाई कार्यक्रम र प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा ५ हजार मिटर खु्ला दौड प्रतियोगिता हुने भएको छ ।
समितिको बैठकमा बोल्नुुहुँदै मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएको बताउनुभयो । गरिबको छोराछोरी समेत प्रधानमन्त्री, राष्ट्रपति हुन पाउने व्यवस्था भएकोले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन उहाँले आह्वान समेत गर्नुभयो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव बाबुराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।












