भदौ २४ गतेको घटनालाई सरकारले ढाकछोप गर्न खोज्दै छः सभापति थापा

स्वर्णिम खबर
९ जेष्ठ २०८३, शनिबार १८:४५

९ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले जेन–जी आन्दोदनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताउनुभएको छ ।
शनिवार विराटनगरको कोईरालानिवास पुग्नुभएका थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताउनुभएको हो । भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उहाँले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताउनु भयो । तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उहाँको आरोप छ । भदौ २४ गतेपनि थुप्रै युवा र प्रहरीहरू मारिएको बताउँदै उहाँले त्यसको सत्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप लगाउनु भयो । उहाँका अनुसार सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो । तर हाल यसलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउँदै उहाँले यो स्वीकार्य नभएको बताउनुभयो । उहाँले भदौ २४ को तत्काल न्यायिक छानबिन आयोग गठन गर्न र हिंसा, आतंक तथा उपद्रोमा संलग्न दोषीहरूलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।
सभापति थापाले मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजानिक गर्न माग गर्नुभयो । उहाँले आयोगले तत्काल प्रतिवेदन सार्वजानिक गर्नुपर्ने र सरकारले आयोगको प्रतिवेदन कार्यन्वयनमा लैजानुपर्ने बताउनु भयो । उहाँले प्रतिवेदन सार्वजानिक नगर्न र सच्याउन सरकारले आयोगलाई दबाब दिएको पनि आरोप लगाउनु भयो ।
उहाँले संविधान अनुसार सरकार चल्नुपर्ने बताउनुभयो । उहाँले प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेकोले सरकारले पनि प्रतिपक्षीको आवाजलाई सुन्नुपर्ने बताउनुभयो । उहाँका अनुसार राष्ट्रियसभामा प्रतिपक्षी दलहरुले चाहेको भए सरकारको निति तथा कार्यक्रम अस्वीकृत हुने थियो । तर काँग्रेसले सरकारको निति तथा कार्यक्रममा विमती हुँदाहुँदै पनि पारित गरेर सहयोग गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*