वित्तीय व्यवस्थापन गर्नु प्रदेश सरकारको ठुलो चुनौतीः मन्त्री तामाङ
७ जेठ, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सरकारहरुलाई वित्तीय व्यवस्थापन सबैभन्दा ठुलो चुनौतीको रुपमा रहेको बताउनुभएको छ ।
अन्य प्रदेशको तुलनामा बागमती प्रदेशलाई वित्तीय व्यवस्थापन केही सहज रहेको उहाँको धारणा छ । प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिको आयोजनामा बिहिबार हेटौंडामा भएको पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री तामाङले तीन वटै तहको सरकारको तुलनामा प्रदेश सरकारको पुँजीगत खर्चको अवस्था राम्रो देखिएको जिकिर गर्नुभयो । यद्यपि, प्रतिफल आउने गरी खर्च हुन नसकेको उहाँको बुझाई छ ।
मन्त्री तामाङले आगामी आर्थिक वर्षको बजेटलाई व्यवस्थित बनाउने गृहकार्य सुरु भएको पनि जानकारी दिनुभयो । पुँजीगत तर्फ बढी बजेट विनियोजन गर्न प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ वटा बनाउने निणर्य गरेको उहाँले बताउनुभयो । मन्त्री तामाङले चालु खर्चतर्फ करिब ३० प्रतिशत बजेट घटाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
मन्त्री तामाङले एआई शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । माध्यमिक तह र प्रदेश सरकार अन्तर्गतको ६ वटा आंंगिक क्याम्पसमा एआई शिक्षाको पाठ्यक्रम समावेश गर्ने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री तामाङले बजार र समयको माग अनुसारको कार्यक्रमलाई आगामी बजटेमा समेट्ने सोच सरकारको रहेको बताउनुभयो ।

मन्त्री तामाङले संघीय कानुनसंग बाँझिएको कारण मदिराजन्य उद्योगहरुलाई लाइसेन्स दिन कठिनाई भएको बताउनुभयो । कानुनी जटिलतालाई फुकाउन प्रदेश सरकार संघ सरकारसंग निरन्तर छलफलमा रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री तामाङले सरकारले नियम कानुनभन्दा बाहिर गएर अपरिपक्क निर्णय गर्दा काम गर्न असहज हुने बताउनुभयो ।
संघीय संरचना आएसंगै प्रदेश सरकारले पूर्वाधारको क्षेत्रमा धेरै काम गरिसकेको दाबी गर्दै मन्त्री तामाङले अहिले सडकको स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाई लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।












