थाहामा आलुकै भात, आलुकै तरकारी, आलुकै अचार खानुपर्ने बाध्यता छः प्रशान्त उप्रेती
५ जेठ, हेटौँडा । मकवानपुर क्षेत्र नं. २ का सांसद् प्रशान्त उप्रेतीले कैलाश, भीमफेदी, थाहा र राक्सिराङका नागरिकले सडकको अत्यन्त खराब अवस्थाका कारण ठूलो सास्ती भोग्नुपरेको बताउनुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले सडक अवरुद्ध र जीर्ण हुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या हुने गरेको उल्लेख गर्दै हालै कैलाश गाउँपालिकामा उपचारका लागि समयमै अस्पताल पु¥याउन नसक्दा नवजात शिशुको मृत्यु भएको दुःखद घटना संसद्मा सुनाउनुभयो । उहाँले अबको चार महिना वर्षायामभर ती क्षेत्रका नागरिक “आइसोलेसन” जस्तै अवस्थामा बस्न बाध्य हुने अवस्था रहेको बताउनुभयो ।
सांसद् उप्रेतीले थाहा नगरपालिकाका किसानहरूले उत्पादन गरेको आलुको मूल्य अत्यन्तै न्यून भएको र सडकको खराब अवस्थाका कारण काठमाडौंसम्म बजार पु¥याउन नसकेको गुनासो गर्नुभयो । किसानहरूले उत्पादन गरेको आलु बिक्री नभएपछि घरमै थन्किन बाध्य भएको उहाँले उल्लेख गर्नुभयो । थाहामा अहिले आलुकै भात, आलुकै तरकारी र आलुकै अचार खाने अवस्था बनेको भन्दै उहाँले किसानको पीडा सांसद्मा प्रस्तुत गर्नुभयो ।
सांसद् उप्रेतीले ठेक्कामा गएका सडक आयोजनाहरूको भौतिक प्रगति विवरण तत्काल समीक्षा गर्न र निर्माण व्यवसायीको जिम्मेवारी सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।












