निर्देशनको कार्यान्वयन सम्बन्धमा सात दिनभित्र विस्तृत प्रगति विवरण पेश गर्न निर्देशन

स्वर्णिम खबर
२ जेष्ठ २०८३, शनिबार १७:०३

२ जेठ, हेटौँडा । बागमती प्रदेशसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले विभिन्न समयमा समितिबाट भएका निर्देशनको कार्यान्वयनको समीक्षा गर्ने भएको छ ।
प्रदेशसभा सचिवालयमा बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालय तथा मातहत निकायलाई समितिबाट भएको निर्देशनको कार्यान्वयन सम्बन्धमा सात दिनभित्र विस्तृत प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । कार्यान्वयनको अवस्था स्पष्ट पार्न सम्बन्धित निकायलाई ताकेता गरेको समितिका सभापति ठाकुरप्रसाद ढकालले बताउनुभयो । समितिले मन्त्रालय तथा अन्तर्गतका निकायहरूलाई विगतमा समितिबाट जारी गरिएका निर्देशनहरूको कार्यान्वयन अवस्था, भएका प्रगति, बाँकी काम र देखिएका चुनौतीहरूबारे तथ्यसहितको विवरण समितिसमक्ष बुझाउन भनेको हो ।
निर्देशन कार्यान्वयनमा ढिलाइ वा अवरोध देखिएको अवस्थामा त्यसका स्पष्ट कारण, समाधानका उपाय र हालसम्म गरिएका प्रयास समेत खुलाउन निर्देशन दिएको सभापति ढकालले बताउनुभयो । यसैगरी बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन भइरहेका प्रमुख आयोजना, परियोजना तथा कार्यक्रमहरूको अवस्थाबारे पनि विस्तृत विवरण माग गरेको छ । ती योजनाहरूमा हालसम्म भएको लगानी रकम, कार्य सम्पन्न भएको वा नभएको अवस्था, प्राप्त प्रतिफल तथा सेवाग्राहीमा परेको प्रभावसमेत समेटेर सात दिनभित्र प्रतिवेदन बुझाउन समितिले निर्देशन दिएको हो । समितिले हाल सञ्चालन भइरहेका अनुगमन कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र वस्तुगत मूल्यांकनमा आधारित बनाउन जोड दिएको छ ।
अनुगमनलाई तथ्यमा आधारित, उत्तरदायी तथा गुणस्तर सुनिश्चित गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै समितिले सेवा प्रवाह सुधार, उपलब्धि मापन, दीगोपन परीक्षण, सुशासन अभिवृद्धि तथा पारदर्शिता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । यसैगरी समितिले २०८३ जेठ ६, ७ र ८ गते हुने स्थलगत अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न सचिवालयलाई पनि निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*