८ वर्षपछि इन्द्रसरोबर तालको सरसफाई
२ जेठ, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा परिचित इन्द्रसरोवर ताल वरिपरि बृहत सरसफाइ गरिएको छ ।
करिब आठ वर्षपछि सञ्चालन गरिएको बृहत् सरसफाइ अभियानबाट तीन ट्रकभन्दा बढी फोहर सङ्कलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीले जनाएको छ । पर्यटकीय क्षेत्रबाट सङ्कलित फोहरमध्ये प्लाष्टिकजन्य र सिसाजन्य सामग्री छुट्याइएको छ । इन्द्रसरोवर ताल क्षेत्रमा आउने आन्तरिक पर्यटकले जथाभावी फाल्ने पानीका बोतल, मदिराका सिसा तथा चाउचाउ, चिप्सलगायतका खानेकुराका प्लाष्टिकजन्य फोहरका कारण इन्द्रसरोवर क्षेत्र प्रदूषित बन्दै गएको थियो ।
ताल वरपर फालिएको फोहरले पर्यटकीय सौन्दर्यसँगै जलीय वातावरणसमेत प्रभावित भएको स्थानीयले बताएका छन् । करिब तीन सय जनाको सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । मत्स्य विकास केन्द्र कुलेखानीका प्रमुख तथा मत्स्य विकास अधिकृत भिमदत्त भट्टले कुलेखानी क्षेत्रमा करिब आठ वर्षपछि बृहत सरसफाइ गरिएको जानकारी दिनुभयो ।
पर्यटकीय क्षेत्र तथा ताल परिसरमा बढ्दो फोहरका कारण जलचर प्राणीसमेत प्रभावित भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । डस्टबिनबाहेक अन्यत्र फोहर फाल्नेलाई जरिवाना गर्ने सम्बन्धमा सूचना जारी गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो । प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज कुमार यादवले स्थानीयले खेतीपातीका क्रममा प्रयोग गर्ने रासायनिक मल र विषादी बगेर कुलेखानीमा मिसिँदा माछाको उत्पादन घट्दै गएको बताउनुभयो ।












