बजेट अधिवेशन जेठ ११ गते आह्वानको लागि सिफारिस गर्ने निर्णय
७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही जेठ ११ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।
त्यसैगरी मन्त्रालयहरुको संख्या घटाइएपछि प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित बनाउन प्रदेश सरकारको कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरिएको छ । मन्त्रालयहरुको नयाँ संरचनाअनुसार कुन मन्त्रालयले कुन क्षेत्रको जिम्मेवारी सम्हाल्ने भन्ने विषय स्पष्ट पार्न नियमावली संशोधन गर्न लागिएको हो । यसअघि वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्न निर्णय गरेको थियो ।
यस्तै, बैठकले स्वास्थ्य क्षेत्रतर्फ दुई अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदस्थापन गरेको छ । भक्तपुर अस्पतालमा डा. त्रिलोचन चन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन मासिठलाई मेसुका रुपमा पदस्थापन गरिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।












