विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम हुने
१५ जेठ, हेटौँडा । ५४ औ विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिने भएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिले विगतका वर्षहरु झैं यस वर्षपनि सप्ताहव्यापी कार्यक्रम गरी वातावरण दिवस मनाउन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष धुव्र अधिकारीले यही जेठ १६ गतेदेखि २२ गतेसम्म कार्यक्रम गर्न लागिएको जानकारी दिनुभएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ १६ र १७ गते विशेष सरसफाई अभियान सञ्चालन हुनेछ भने १७ गते नै भान्छा नै औषधालय सचेतना कार्यक्रम सञ्चालन हुने अध्यक्ष अधिकारीले बताउनुभयो । त्यसैगरी १८ गते फोहोर खोज चुनौती कार्यक्रम हुनेछ ।
उहाँका अनुसार १९ गते हेटौंडा १ मा वृक्षारोपण कार्यक्रम र हेटौंडा ७ मा प्लाष्टिक मुक्त सचेतना कार्यक्रम हुनेछ । यसैगरी जेठ २० गते बोत्तल देउ, बिरुवा लिउ कार्यक्रम र प्रकृति सम्बाद यात्रा २०८३, जेठ २१ गते जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक कार्यक्रम र खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ २२ गते वातावरण सचेतना सम्बन्धी ¥याली सहित समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । यस वर्षको विश्व वातावरण दिवसको मुख्य नारा ‘प्रकृतिको प्रेरणा, जलवायुको संरक्षण, भविष्यको सुनिश्चित्तता’ रहेको छ ।













