क्याम्पडाँडा क्षेत्रमा अतिक्रमित सरकारी जग्गा खाली गराइयो
१५ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रको स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा हेटौँडा–५ को क्याम्पाडाँडा क्षेत्रमा अतिक्रमण गरिएको करिब चार कठ्ठा जग्गा खाली गराइएको हो । सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार बिहानदेखि प्रहरी प्रशासनको सहयोगमा अनधिकृत संरचना हटाइएको हो । केन्द्रले कित्ता नम्बर ९६ को जग्गामा निर्माण गरिएका घर, टहरा, होटल तथा खाजाघरलगायतका संरचना हटाएको जनाएको छ । केन्द्रका अनुसार करिब चार कठ्ठा क्षेत्रफलमा रहेका संरचना हटाइएको हो । उक्त जग्गा करिब ७१ बिघा १६ कट्ठा १६ धुर क्षेत्रफलमध्ये पर्छ ।
केन्द्रले गत जेठ ८ गते तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै आफ्नो नाममा रहेको जग्गा ७ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो । त्यसपछि माइकिङ गर्नुका साथै घर–घरमा सूचना टाँस गरेर अतिक्रमण हटाउन आग्रह गरिएको थियो । तर तोकिएको समयभित्र पनि अतिक्रमण नहटाइएपछि केन्द्रले प्रशासन र सुरक्षाकर्मीको सहयोगमा डोजर प्रयोग गरी संरचना हटाउन थालेको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–५ मा रहेको केन्द्रको नाममा दर्ता भएको कित्ता नम्बर ९६ को करिब ४ कठ्ठा क्षेत्रफल जग्गा केही व्यक्तिहरुले अनधिकृत रुपमा प्रयोग गर्दै आएका थिए । अतिक्रमण गरी निर्माण गरिएका ७ वटा घर–टहरा तथा शौचालय हटाइने केन्द्रका प्रमुख सरोज कुमार यादवले जानकारी दिनुभयो ।
केन्द्रले मत्स्य उत्पादनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकाले अतिक्रमण हटाउनुपरेको बताउनुभयो । जग्गा खाली भएपछि उक्त क्षेत्रमा ग्रास कार्प माछाका लागि आवश्यक आहारा उत्पादन गरिने केन्द्रले जनाएको छ । त्यसका लागि केरा, मकै, भटमास लगायतका बाली लगाइनेछ भने नेपीयर, सुडान, बदामे, परा र ढैंचा जस्ता उन्नत घाँस पनि खेती गरिने प्रमुख यादवले जानकारी दिनुभयो ।
माछा उत्पादनलाई दिगो र व्यावसायिक बनाउने उद्देश्यले आफ्नै जग्गामा आहारा उत्पादन गर्ने योजना अघि बढाइएको हो ।













