महिनावारी स्वच्छता दिवस कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१३ जेष्ठ २०८३, बुधबार १९:३३

१३ जेठ, हेटौँडा । नेपाल परिवार नियोजन संघ (एफपान) को आयोजनामा “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नारासहित महिनावारी स्वच्छता दिवस कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय विद्यालय तथा समुदायस्तरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, किशोरकिशोरी तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत सहभागीहरूलाई महिनावारी स्वास्थ्य, व्यक्तिगत सरसफाइ तथा महिनावारीसँग जोडिएका सामाजिक भ्रम र गलत धारणाबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा महिनावारी महिलाको शरीरमा हुने प्राकृतिक जैविक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई लाज वा विभेदको विषय नभई स्वास्थ्य र सचेतनासँग जोडेर बुझ्नुपर्नेमा जोड दिइएको थियो ।
सहभागीहरूलाई महिनावारी चक्र, शरीरमा हुने परिवर्तन, सरसफाइ अपनाउने तरिका तथा स्वास्थ्य सुरक्षासम्बन्धी विषयहरू सरल र व्यवहारिक शैलीमा प्रस्तुत गरिएको थियो । विशेषगरी महिनावारीको समयमा सफा सामग्री प्रयोग गर्ने, नियमित सरसफाइमा ध्यान दिने तथा कुनै स्वास्थ्य समस्या देखिएमा समयमै परामर्श लिनुपर्ने विषयमा जानकारी दिइएको थियो ।
प्रशिक्षकहरूले किशोरकिशोरीहरूलाई आत्मविश्वासी बनाउन र महिनावारीप्रति सकारात्मक सोच विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् । कार्यक्रममा सहभागीहरूले महिनावारीसम्बन्धी धेरै उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले यस्ता कार्यक्रमले किशोरकिशोरीलाई सचेत, आत्मविश्वासी र स्वास्थ्यप्रति जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता एवम् नेपाल भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघका सभापति ईश्वर पणिडतको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*