सुशासन र शासकीय चरित्रमा सुधार नभई गणतन्त्रको सार्थकता रहँदैनः राष्ट्रपति पौडेल

स्वर्णिम खबर
१५ जेष्ठ २०८३, शुक्रबार १४:०८

१५ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता गर्नुका साथै साझा राष्ट्र निर्माणको संकल्पका लागि अभिप्रेरित गरेको उल्लेख गर्नुभयो । गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको बताउँदै उहाँले यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्नुभयो । उहाँले राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गर्नुभयो । मुलुकको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ढिलासुस्ती, अनियमितता र बेथिति अहिलेको मुख्य चुनौती रहेको औंल्याउनु भयो । राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि सुनिश्चित गर्नु आजको मुख्य कार्यभार रहेको बताउनु भयो ।
प्रत्येक नागरिकको जीवनमा आशाको सञ्चार नभएसम्म रगत र पसिना बगाएर प्राप्त गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूर्ण नहुने उहाँको निष्कर्ष छक । शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील बनाउँदै सुशासनको प्रत्याभुति दिन सरकार र संवद्ध पक्षलाई उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*