पर्सा निकुञ्ज क्षेत्रमा अतिक्रमण नियन्त्रणका लागि विवरण संकलन सुरु
२१ जेठ, हेटौँडा । पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले सम्बन्धित स्थानीय तह, वडा कार्यालय तथा मध्यवर्ती उपभोक्ता समितिहरूसँग विवरण माग गरेको छ ।
निकुञ्ज–मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णयअनुसार अतिक्रमण नियन्त्रण सम्बन्धी कार्ययोजना तयार गर्न आवश्यक तथ्यांक संकलन प्रक्रिया अघि बढाइएको हो । निकुञ्ज कार्यालयले पत्र जारी गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका सडक किनार, सार्वजनिक जमिन, वन क्षेत्र, सामुदायिक वन तथा निकुञ्जसँग जोडिएका अन्य स्थानमा भएका अतिक्रमणको यथार्थ अवस्था पहिचान गरी विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । कार्यालयले अतिक्रमण भएको स्थान, त्यसको स्वरूप, संलग्न व्यक्ति वा समूह तथा अन्य आवश्यक तथ्यसहितको विवरण १५ दिनभित्र पेश गर्न आग्रह गरेको छ । यसका लागि हेटौंडा उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, मनहरी गाउँपालिका, ठोरी गाउँपालिका तथा मध्यवर्ती क्षेत्रका विभिन्न उपभोक्ता समितिसँग समन्वय थालिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दीपक खड्काले निकुञ्जको पत्र प्राप्त भइसकेको र आवश्यक विवरण संकलनको काम सुरु गरिने जानकारी दिनुभयो । वडा कार्यालयले वन समिति तथा उपभोक्ता समितिहरूमार्फत लगत संकलन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । अध्यक्ष खड्काले वडा नम्बर १४ मा अतिक्रमित संरचनाको संख्या धेरै नरहेको दाबी गर्दै वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीय बासिन्दाको संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । जनताबाट निर्वाचित जनप्रतिनिधिको हैसियतले नागरिकको सुरक्षित आवासको अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाई छ ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ रेन्जर रामचन्द्र ढकालले यथार्थ विवरण संकलनपछि समस्याको स्पष्ट चित्र प्राप्त हुने र त्यसका आधारमा प्रभावकारी कार्ययोजना लागू गर्न सहज हुने उल्लेख गर्दै सम्बन्धित निकायलाई समयमै आवश्यक जानकारी उपलब्ध गराउन आग्रह गर्नुभयो । पर्सा राष्ट्रिय निकुञ्ज दक्षिण–मध्य नेपालको तराई तथा चुरे क्षेत्रमा फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो संरक्षित क्षेत्र ६२७ दशमलब ३९ वर्ग कि.मि. मा फैलिएको छ र यसले पर्सा, बारा र मकवानपुर जिल्लाहरू समेट्छ ।













