प्रधानमन्त्रीका अभिव्यक्ति राष्ट्रघाती र कुटनीतिक मर्यादा विपरितः अध्यक्ष ओली

स्वर्णिम खबर
२० जेष्ठ २०८३, बुधबार १४:२४

२० जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ र ‘देशद्रोही’ को संज्ञा दिनुभएको छ ।
प्रधानमन्त्रीले संसदमा बिना कुनै पूर्वकार्यतालिका उपस्थित भई नेपालले भारतको सीमा मिचेको भनी दिएको बयानप्रति ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीको सदनमा आकस्मिक उपस्थितिलाई लिएर टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भन्नुभएको र यो पूर्णतः असत्य, झुट र राष्ट्रघाती वचन भएको बताउनु भयो । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालले भारतको एक इन्च जमिन पनि नमिचेको स्पष्ट पार्नुभयो ।
उहाँले यस्तो गम्भीर र भ्रामक कुरा प्रधानमन्त्री जस्तो जिम्मेवार ओहोदामा बसेको व्यक्तिले बोल्नु देशको अहितमा रहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले द्विपक्षीय सीमा समस्या समाधानका लागि तेस्रो मुलुक (बेलायत) लाई संलग्न गराउने प्रधानमन्त्रीको प्रश्तावलाई समेत अदूरदर्शी र अकुटनीतिक कदमको रूपमा व्याख्या गर्नुभयो । नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितका विषयहरू कुनै व्यक्तिको निजी सम्पती नभएको उल्लेख गर्दै ओलीले स्थापित नीतिहरूलाई भवितव्यले पदमा पुगेका व्यक्तिले मनलाग्दी ढंगले चलाउन नमिल्ने चेतावनी दिनुभयो ।
सभामुखको भुमिकाप्रति पनि प्रश्न उठाउँदै ओलीले प्रधानमन्त्रीले राष्ट्रघाती कुरा गर्दा रोक्न नसक्ने तर राष्ट्रियताको पक्षमा आवाज उठाउने सांसदहरूमाथि कारबाहीको तयारी गर्नु न्यायोचित नभएको बताउनु भयो । नेकपा एमालेका सांसदहरूले राष्ट्रियता, लोकतन्त्र र सुशासनका लागि आवाज उठाएको भन्दै उहाँले आफ्ना सांसदहरूको बचाउ गर्नुभयो ।
अध्यक्ष ओलीले देशको सीमाना र सार्वभौमसत्ताको रक्षाका लागि आफ्नो पार्टीले निरन्तर संघर्ष जारी राख्ने दृढता समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*