विज्ञापन नीति मार्फत सरकारबाट सञ्चारमाध्यम माथि आक्रमण भयोः अध्यक्ष शर्मा
२३ जेठ, हेटौँडा । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विज्ञापन नीति मार्फत सरकारले सञ्चारमाध्यममाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ ।
सरकारको यस्तो नीतिले मिडियालाई आर्थिक रूपमा कमजोर बनाउनुका साथै संविधानले सुनिश्चित गरेको नागरिकको सूचनाको अधिकारमाथि समेत प्रहार गरेको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको शनिबार हेटौंडामा आयोजित पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले विगतमा राजाले गरेको ‘कु’ भन्दा वर्तमान सरकारले गरेको ‘कु’ अझ खतरनाक रहेको टिप्पणी गर्नुभयो । राजतन्त्रका बेला सञ्चारकर्मी आन्दोलनमा उत्रिँदा ढिलोचाँडो माग सम्बोधन हुने गरेको स्मरण गर्दै उहाँले अहिलेको सरकारले भने सञ्चारकर्मीका समस्या सुन्नसमेत नचाहेको आरोप लगाउनुभयो । सरकार लोकतान्त्रिक मूल्य र पद्धतिअनुसार सञ्चालन हुन नसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले प्रधानमन्त्रीको निर्देशनकै आधारमा कर्मचारीलाई पक्राउ गर्ने कार्य लोकतन्त्रको मर्मविपरीत भएको बताउनुभयो । कानुन र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गर्ने सरकारले सञ्चारमाध्यममाथि अंकुश लगाउने प्रयास गर्नु स्वाभाविक भएको उहाँको भनाइ थियो।

अध्यक्ष शर्माले पत्रकार महासंघ आफ्नै संस्थागत हितभन्दा पनि संविधान, लोकतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आन्दोलनमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । नागरिक अगुवा, मानवअधिकारकर्मी तथा अन्य सरोकारवाला संस्थाहरूको ऐक्यबद्धता बिना आन्दोलन सफल हुन नसक्ने उहाँले बताउनुभयो । सरकारले विज्ञापन रोकेर मात्र नभई अभिव्यक्ति स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने प्रयास गरेको जिकिर गर्दै अध्यक्ष शर्माले व्यवसायिक सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाललाई प्राथमिकता दिने सरकारी दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । न्यु मिडियाका नाममा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरू नागरिकको आवाज र लोकतान्त्रिक जिम्मेवारी वहन गर्न सक्षम नहुने उहाँको भनाइ थियो ।
अध्यक्ष शर्माले नागरिकको विश्वास जित्न सके मात्रै पत्रकार महासंघको आन्दोलन प्रभावकारी बन्ने बताउँदै जिम्मेवार र विश्वसनीय पत्रकारितामार्फत जनविश्वास हासिल गर्नुपर्नेमा जोड दिनुभयो । राज्यले सञ्चारमाध्यममा लगानी गर्नुपर्ने उल्लेख गर्दै उहाँले लोककल्याणकारी विज्ञापनका नाममा हुने अनियमितता रोक्न आवश्यक रहेको बताउनुभयो । अनियमितता नियन्त्रणका लागि महासंघ सरकारलाई सहयोग गर्न तयार रहेको जनाउँदै उहाँले त्यसको बहानामा सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको विज्ञापन पूर्ण रूपमा रोक्नु गलत भएको धारणा राख्नुभयो । २१औँ शताब्दीमा राज्य आफैँले मिडिया सञ्चालन गर्न नहुने उहाँको भनाइ थियो।

यसैबीच, पत्रकार महासंघ बागमती प्रदेश समितिले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पत्रकार तथा उत्कृष्ट जिल्ला शाखालाई सम्मान तथा पुरस्कृत गरेको छ । पाँचौँ साधारणसभाको अवसरमा प्रदान गरिएको ‘रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार भगवती तिमल्सिना लाई प्रदान गरिएको छ । ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’बाट प्रतिमा सिलवाल तथा ‘स्व. सुर्जबहादुर सारु मगर स्मृति पत्रकारिता पुरस्कार’बाट ध्रुव अधिकारी सम्मानित हुनुभएको छ। तीनवटै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी पत्रकारिता क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका शेषराज दाहाल, नवराज शर्मा तथा दिपक आचार्यलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरिएको छ । उत्कृष्ट शाखाको रूपमा नेपाल पत्रकार महासंघ धादिङ शाखा पुरस्कृत भएको छ। अध्यक्ष निर्मला शर्मा तथा बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । महासंघले साधारणसभापछि सम्पन्न मिडिया सम्मेलनमा उठेका विषयहरू समेटेर आइतबार ‘हेटौंडा घोषणापत्र’ सार्वजनिक गरिने जनाएको छ ।













