जिल्ला स्तरीय भलिबलको उपाधि हेटौंडा–११ लाई
२४ जेठ, हेटौँडा । हेटौंडा–११ मा सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक क्षेत्रकै टोली हेटौंडा–११ ले जितेको छ ।
सरस्वती टोल विकास संस्थाको आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार भएको रोमाञ्चक फाइनलमा हेटौंडा–११ ले थाहा–२ लाई ३–२ सेटले पराजित गर्दै च्याम्पियन बनेको हो । सरस्वतीको मितेरी खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा हेटौंडा–११ ले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२३ र २५–१३ ले जित्दै थाहा–२ ले खेलमा पुनरागमन गरेको थियो । तर चौथो सेट २५–२३ र निर्णायक पाँचौं सेट १५–११ ले जित्दै हेटौंडा–११ ले उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै विजेता हेटौंडा–११ ले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । उपविजेता थाहा–२ ले नगद ३० हजार रुपैयाँमा चित्त बुझाएको छ। त्यसैगरी सान्त्वना स्थान हासिल गरेका थाहा–६ बज्रबाराही र हटिया स्पोट्र्स क्लब हेटौंडा–१७ ले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । जेठ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका १३ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताले स्थानीय स्तरमा भलिबल खेलको विकास, खेलाडीहरूको प्रतिभा प्रस्फुटन तथा खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ । प्रतियोगिताको समापन समारोहमा २०३६ सालदेखि विभिन्न कालखण्डमा खेलकुद तथा विशेषगरी भलिबल खेलको विकास र प्रवद्र्धनमा योगदान पु¥याउँदै आएका अग्रज खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो।













