एपीएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात
१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलो जीत निकालेको छ ।
शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफलाई २–१ गोलले पराजित गरेको हो ।
चिल्ताङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११ औं मिनेटमा पेनाल्टी मार्फत र एरोन थापाले दोस्रो हाफको ६० औं मिनेटमा एक–एक गोल गरे। एपीएफका बुद्धिमान राईले ४७ औं मिनेटमा एक गोल फर्काए । प्लेयर अफ दि म्याच चित्लाङका लक्ष्मण थापा घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
चित्लाङले अब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि मंगलबार खेल्नेछ। मछिन्द्र समूह ’बीझबाट बाई पाएका हुन् । मछिन्द्र बागमती गोल्डकपको छैठौं संस्करणको विजेता र सातौं संस्करणको उपविजेता टोली समेत हो ।
प्रतियोगिता अन्तर्गत आइतबार बैशाख २० गते सातौं संस्करणको विजेता चर्च ब्वाइज र सर्लाहीको बागमती युथबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।












