रामेछापको सुनापति : मन, प्रकृति र संस्कृतिसँग साक्षात्कार गर्ने गन्तव्य

स्वर्णिम खबर
११ असार २०८३, बिहीबार १२:२१

जहाँ एउटै डाँडामा भेटिन्छन् शिव, गुम्बा र १०८ लहरे माने

कुनै ठाउँ केवल प्राकृतिक रुपमा सुन्दर भएर मात्रै पर्यटकको रोजाइ बन्दैन । त्यहाँ इतिहास हुनुपर्छ, संस्कृति हुनुपर्छ, धार्मिक आस्था हुनुपर्छ र त्यहाँ पुग्ने मानिसलाई फेरि फर्केर आउन मन लाग्ने वातावरण पनि हुनुपर्छ । रामेछापको सुनापति गाउँपालिकामा अवस्थित सुनापति डाँडा यस्तै सबै विशेषता बोकेको गन्तव्य हो । यहाँ पुगेपछि प्रकृतिले दिएको अनुपम सौन्दर्य, धार्मिक आस्थाले सिर्जना गरेको शान्त वातावरण र स्थानीय समुदायले संरक्षण गर्दै आएको सांस्कृतिक सम्पदाले जो–कोहीलाई मोहित बनाउँछ ।

समुद्री सतहबाट करिब २ हजार २ सय ५० मिटर उचाइमा रहेको सुनापति डाँडा अहिले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको नयाँ केन्द्रका रुपमा विस्तारै परिचित बन्दै गएको छ । नेपालमै दुर्लभ मानिने १०८ लहरे माने, ३५ फिट अग्लो भगवान् शिवको विशाल मूर्ति, सयौँ वर्ष पुरानो शिव मन्दिर, २७७ वर्ष पुरानो उर्गेन छयोइलिङ पाङ गुम्बा, पद्मसम्भवको मूर्ति र वरिपरि देखिने हिमशृङ्खलाको मनोरम दृश्यले यो ठाउँलाई अन्य गन्तव्यभन्दा फरक बनाएको छ । सुनापति डाँडामा पुग्ने जो–कोहीले केवल एउटा पर्यटकीय स्थलको भ्रमण गर्दैन, बरु धार्मिक आस्था, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीको संगमलाई नजिकबाट अनुभूति गर्ने अवसर पाउँछ ।

बिहानको पहिलो घामसँगै सुनापति डाँडाको मनमोहक दृश्य

बिहान सूर्योदय हुनुअघि नै सुनापति डाँडामा पुग्ने हो भने प्रकृतिको अनुपम दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउँछ । पूर्वी क्षितिजबाट विस्तारै उदाउँदै गरेको सूर्यको किरणले हिमालका चुचुराहरु सुनौलो बनाउँछन् ।

त्यसैबेला लहरे मानेमाथि परेका घामका किरणहरुले सम्पूर्ण क्षेत्रलाई आध्यात्मिक ऊर्जा भरिएको अनुभूति गराउँछन् । हल्का हावासँगै सुनिने चराचुरुङ्गीको आवाज, वरिपरि फैलिएको हरियाली जंगल र टाढासम्म देखिने हिमालहरूले सुनापति डाँडालाई प्रकृतिप्रेमीका लागि स्वर्गसरह बनाएको छ । स्वच्छ मौसममा यहाँबाट गौरीशंकर, नुम्बुर, रोल्वालिङ र महालङ्गुर क्षेत्रका हिमशृङ्खला अन्तरगतका दर्जनौँ हिमालहरु देखिन्छन् । त्यति मात्र होइन, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे र आसपासका जिल्लाका पहाडी बस्तीहरु पनि यही डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

नेपालमै दुर्लभ १०८ लहरे माने

सुनापति डाँडाको सबैभन्दा ठूलो आकर्षण १०८ लहरे माने हुन् । नेपालमा एकै स्थानमा यति ठूलो संख्यामा व्यवस्थित रूपमा निर्माण गरिएका लहरे माने भेटिनु दुर्लभ मानिन्छ । त्यसैले पनि यहाँ पुग्ने धेरै पर्यटकले पहिलो पटक यस्तो दृश्य देखेको अनुभव सुनाउने गरेका छन् । बौद्ध धर्मावलम्बीका लागि माने केवल धार्मिक संरचना होइन, श्रद्धा, साधना र आध्यात्मिक यात्राको प्रतीक पनि हो ।

यहाँ रहेका केही मानेहरु धेरै पुराना भएको स्थानीयहरु बताउँछन् भने समयसँगै जीर्ण बनेका संरचनाको संरक्षण गर्दै नयाँ मानेहरु पनि निर्माण गरिएको छ । लहरे मानेको वरिपरि परिक्रमा गर्दै प्रार्थना गर्ने, ध्यान गर्ने र केही समय शान्त वातावरणमा बिताउने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

हिन्दू र बौद्ध आस्थाको अनुपम संगम

१०८ लहरे मानेबाट केही पर पुगेपछि ३५ फिट अग्लो भगवान् शिवको विशाल मूर्ति देखिन्छ । मूर्तिसँगै रहेको पुरानो शिव मन्दिरले यो क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूको पनि प्रमुख धार्मिक गन्तव्य बनाएको छ । नेपाल धार्मिक सहिष्णुताको देश हो भन्ने उदाहरण सुनापति डाँडाले जीवन्त रुपमा प्रस्तुत गरेको छ । एउटै डाँडामा बौद्ध धर्मका पवित्र लहरे माने र हिन्दू धर्मका आराध्य भगवान् शिवको विशाल मूर्ति रहनुले यहाँ धार्मिक सद्भावको सशक्त सन्देश दिएको छ । स्थानीयका अनुसार शिव मन्दिर धेरै पुरानो हो । स्थानीय बासिन्दाले वर्षौंदेखि यहाँ पूजा–आराधना गर्दै आएका छन् । पछिल्ला वर्षहरुमा विशाल शिव मूर्ति निर्माण भएपछि यस स्थानको आकर्षण झनै बढेको छ ।

ऐतिहासिक उर्गेन छयोइलिङ पाङ गुम्बा

सुनापति डाँडाबाट केही तल रहेको उर्गेन छयोइलिङ पाङ गुम्बा यस क्षेत्रको अर्को महत्वपूर्ण सम्पदा हो । करिब २७७ वर्ष पुरानो मानिने यो गुम्बा अहिले पनि धार्मिक अध्ययन, ध्यान र पूजा–आराधनाको केन्द्रका रुपमा सञ्चालनमा छ ।
गुम्बामा बस्ने लामा गुरुहरु नियमित रुपमा धार्मिक अनुष्ठान सञ्चालन गर्छन् । गुम्बा परिसरमा रहेको गुरु पद्मसम्भवको मूर्तिले यसको धार्मिक महत्वलाई थप उचाइ दिएको छ । धार्मिक पर्यटनमा रुचि राख्ने पर्यटकका लागि गुम्बा, लहरे माने र शिव मूर्ति एकै दिन अवलोकन गर्न सकिने भएकाले सुनापति डाँडा समग्र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

सडकसँगै बढ्दै गएको पर्यटकको आकर्षण

केही वर्षअघिसम्म सुनापति डाँडासम्म पुग्न कठिन यात्रा गर्नुपर्थ्यो । अहिले गाउँपालिकाले सडक विस्तार, सिँढी निर्माण, पदमार्ग, विश्रामस्थल र अन्य पूर्वाधार विकास गरेपछि यात्रा सहज बनेको छ । सडक पुगेपछि स्थानीय होटल, होमस्टे र साना व्यवसाय पनि विस्तार हुन थालेका छन् । यसले स्थानीय युवालाई गाउँमै स्वरोजगारको अवसर सिर्जना गर्न थालेको छ ।

पर्यटनबाट गाउँको समृद्धि

सुनापति गाउँपालिकाले पर्यटनलाई विकासको प्रमुख आधार मानेर योजनाबद्ध रूपमा काम गरिरहेको छ । गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकाको नाम नै ऐतिहासिक सुनापति डाँडाबाट राखिएको उल्लेख गर्दै स्थानीय सरकार गठन भएपछि पर्यटनलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको बताए । उनले सुनापति डाँडामा सयौँ वर्ष पुराना बौद्ध माने, ऐतिहासिक शिव मन्दिर र प्राकृतिक सौन्दर्य रहेको उल्लेख गर्दै यी सम्पदालाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने दीर्घकालीन योजना बनाइएको भनाइ राखे । नेपालमै फरक पहिचान बनाउने उद्देश्यले १०८ लहरे माने निर्माण गरिएको र यसले भविष्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने विश्वास रहेको उनले बताए ।

होमस्टे र स्थानीय संस्कृतिको अनुभव

गाउँपालिका उपाध्यक्ष गीता विष्टले सुनापति गाउँपालिकामा धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको पर्याप्त सम्भावना रहेको बताइन् । उनले १०८ लहरे मानेलाई केन्द्रमा राखेर अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने पर्यटन रुट निर्माणको योजना अघि बढाइएको बताइन् । पर्यटकका लागि होमस्टे, होटल, स्थानीय खानाका परिकार, मौलिक संस्कृति र भेषभूषाको अनुभव गराउने कार्यक्रम पनि विस्तार भइरहेको उनले उल्लेख गरिन् । पर्यटनबाट स्थानीय महिलाको आयआर्जन बढ्ने र गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास पनि उनले व्यक्त गरिन् ।

शैलुङ ट्रेलसँग जोडिने सुनापति

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले नेपाल पर्यटन बोर्डको अगुवाइमा डहु–सुनापति डाँडा–शैलुङ ट्रेल को अध्ययन सम्पन्न भएको बताए । उक्त ट्रेल सञ्चालनमा आएपछि पदयात्रा, धार्मिक पर्यटन र प्रकृति पर्यटनलाई एउटै मार्गबाट प्रवद्र्धन गर्न सकिने उनले विश्वास व्यक्त गरे । यसले सुनापतिलाई प्रदेशकै प्रमुख पर्यटन केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उनको धारणा थियो ।

अझै गर्नुपर्ने काम

पूर्वाधार विस्तारसँगै सुनापति डाँडालाई दीर्घकालीन पर्यटन गन्तव्य बनाउन केही थप काम आवश्यक देखिन्छ । व्यवस्थित पार्किङ, सूचना केन्द्र, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन, दृश्यावलोकन टावर, पर्यटन सूचना बोर्ड, स्थानीय हस्तकला बिक्री केन्द्र र नियमित सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सके यहाँ आउने पर्यटकको बसाइ अवधि पनि बढ्न सक्छ । त्यसैगरी डिजिटल प्रवद्र्धन, वृत्तचित्र निर्माण, सामाजिक सञ्जालमार्फत प्रचार, पर्यटन प्याकेज तथा निजी क्षेत्रसँगको सहकार्यलाई पनि प्राथमिकता दिन आवश्यक देखिन्छ ।

सुनापति अब केवल गाउँ होइन, सम्भावनाको गन्तव्य

एक समय स्थानीयबाहेक धेरैले नामसमेत नसुनेको सुनापति डाँडा आज विस्तारै राष्ट्रिय पर्यटनको नक्सामा आफ्नो स्थान बनाउन थालेको छ । १०८ लहरे माने, शिवको विशाल मूर्ति, पुरानो गुम्बा, हिमालको अनुपम दृश्य, धार्मिक सहिष्णुता र प्राकृतिक शान्तिले यो क्षेत्रलाई नेपालको विशिष्ट गन्तव्य बनाइरहेको छ । यदि यहाँको पूर्वाधार विकासलाई निरन्तरता दिने, ऐतिहासिक सम्पदाको संरक्षण गर्ने र योजनाबद्ध रुपमा पर्यटन प्रवद्र्धन गर्ने काम अघि बढाइयो भने सुनापति डाँडा केवल रामेछापको मात्र होइन, नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा स्थापित हुन धेरै समय लाग्ने छैन । सुनापति डाँडामा पुग्ने प्रत्येक यात्रुले एउटा कुरा अवश्य महसुस गर्छ । यहाँको यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन, मनको शान्ति, प्रकृतिको सौन्दर्य, इतिहासको गहिराइ र संस्कृतिको आत्मासँग साक्षात्कार गर्ने यात्रा हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*