कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

‘जिरो न्यू ट्र्याक’ नीति लागु गर्ने
स्वर्णिम खबर
१० असार २०८३, बुधबार १७:१६

१० असार, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रमसहित ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार बसेको गाउँपालिकाको १८ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
उहाँका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ८९ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १९ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँटतर्फ १० करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ २ करोड ५९ लाख रुपैयाँ र विशेष अनुदानतर्फ १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसरी संघीय सरकारबाट कुल ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ८१ लाख ९८ हजार रुपैयाँ, सशर्त अनुदान १ करोड ३२ लाख ७९ हजार रुपैयाँ, राजस्व बाँडफाँट ३ करोड ८२ लाख ४४ हजार ९१० रुपैयाँ, समपूरक अनुदान २ करोड ८० लाख रुपैयाँ तथा विशेष अनुदान ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट कुल ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ आय हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
खर्चतर्फ आर्थिक विकास क्षेत्रमा २ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७५ लाख ५४ हजार रुपैयाँ छुट्याइएको छ । पूर्वाधार विकासतर्फ १५ करोड ७० लाख रुपैयाँ, सामाजिक विकासतर्फ २४ करोड ८९ लाख १५ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३ लाख रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष मल्लले जानकारी दिनुभयो ।
                                                                                                अन्तिम वर्षमा उपलब्धिहरू संस्थागत गर्ने गाउँपालिकाको लक्ष्य
त्यसअघि सभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, रोजगार र सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
चालु जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्षलाई उपलब्धिहरू संस्थागत गर्ने, अधुरा योजनाहरू सम्पन्न गर्ने तथा दीगो विकासको आधार तयार गर्ने वर्षका रूपमा अगाडि बढाइने उनले बताए ।
नीति तथा कार्यक्रममा गाउँपालिकाको लाइफलाइन सडक ‘चुनियाँ–नामटार–कालिकाटार–भार्ता सडक सहित विभिन्न गौरवका बहुवर्षीय सडक आयोजनाहरूलाई उच्च प्राथमिकता दिइएको छ । गैरीगाउँ गोगने पकनी डाँडाखर्क बैकुण्ठ सडक, गोगने कालिकाटार सडक, भार्ता सानुडाँडाखर्क कैलाश वैकुण्ठ सडक,लिक्चे ध्याङसिंटार नेवारपानी मोटर बाटो र पकनी कप्सेरी भार्ता सडकहरुको स्तरोन्नति कार्यलाई तीव्रता दिइने भएको छ । साथै वातावरणीय अध्ययन र आवश्यक तयारीबिना नयाँ सडक ट्र्याक नखोल्ने ‘जिरो न्यू ट्र्याक’ नीति लागू गर्दै विद्यमान सडकहरूको स्तरोन्नति र नियमित मर्मतसम्भारमा जोड दिइने भएको छ ।
रोजगार तथा उद्यमशीलता विकासका लागि राष्ट्रिय रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउँदै सूचीकृत बेरोजगार नागरिकलाई न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत निर्माणाधीन आयोजना सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिनेछ । खानेपानीको गुणस्तर परीक्षणलाई नियमित बनाइने, खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डलाई सक्रिय बनाइने तथा पूर्ण सरसफाइ उन्मुख पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । वातावरण संरक्षणका लागि मुहान संरक्षण तथा वृक्षारोपण अभियानलाई समेत निरन्तरता दिइने भएको छ ।
कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यका साथ बाँझो जमिन उपयोग, चक्लाबन्दी तथा करार खेती विस्तार, रैथाने बाली संरक्षण, तरकारी पकेट क्षेत्र विकास तथा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिनेछ । ‘जसले गर्छ उत्पादन, उसले पाउँछ अनुदान’ अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ। कृषकलाई उन्नत बीउबिजन, कृषि प्रविधि, माटो परीक्षण तथा बाली संरक्षण सेवामा पहुँच विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।
बैकुण्ठ क्षेत्रको पर्यटन पूर्वाधार विस्तार, जिपलाइन सञ्चालन तथा होमस्टे सेवालाई थप गुणस्तरीय र व्यवसायिक बनाउने नीति पनि कार्यक्रममा समावेश गरिएको छ ।
शिक्षा क्षेत्रतर्फ विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन विशेष अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य क्षेत्रमा वीपी स्मृति कैलाश आधारभूत अस्पताललाई थप सुदृढ बनाइने, आवश्यक जनशक्ति, उपकरण तथा औषधिको व्यवस्था गरिने भएको छ । ‘कैलाश बन्दैछ, बा–आमालाई सन्चै छ’ अभियानमार्फत नसर्ने रोगको पहिचान र नियन्त्रणका लागि टोलस्तरीय स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । यस्तै, ‘जिरो होम डेलिभरी’ नीति लागू गर्दै गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य जाँच, एम्बुलेन्स सेवा, पोषण सामग्री तथा स्वास्थ्य परामर्श उपलब्ध गराइ संस्थागत प्रसूतिलाई प्रोत्साहन गरिने भएको छ ।
सामाजिक विकासतर्फ किशोर–किशोरी संवाद कार्यक्रम, बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण, विपन्न नागरिकलाई स्वरोजगारसँग जोड्ने कार्यक्रम तथा ‘छोरी प्रोत्साहन कार्यक्रम’लाई थप प्रभावकारी बनाइने भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*