कालापानी र लिपुलेक नेपाली भूमि भएको प्रमाण नेपालसँग छः प्रधानमन्त्री साह

स्वर्णिम खबर
७ असार २०८३, आईतवार १९:०४

७ असार, हेटौँडा । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनुभएको छ ।
आइतवार चितवनमा पार्टीको प्रथम महाधिवशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो । सोही मन्तव्यको स्पष्टीकरण प्रधानमन्त्री साहले पार्टीको महाधिवेशन उद्घाटन गर्दै दिनुभएको हो । प्रधानमन्त्री साहले कालापानी र लिपुलेक लगायतका क्षेत्रका विषयमा छिमेकी मुलुकसँग तथ्यपरक संवाद गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले सीमाको विषय उठाउँदा अन्य देशले आपत्ति जनाउनु स्वाभाविक भएपनि नेपालले प्रमाणकै आधारमा आफ्नो अडान राख्ने बताउनु भयो । प्रधानमन्त्री साहले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको समेत प्रस्ट पार्नुभयो । नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवादमार्फत नै समस्याको समाधान खोज्ने उहाँको भनाइ छ । आफ्नो राष्ट्रियता र देशप्रतिको निष्ठामा कसैले पनि आशङ्का गर्न नपर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी प्रधानमन्त्री साहले आफ्नो नेतृत्वको सरकारको यात्रा “एक्सप्रेस वे मा दौडिरहेको गाडी” जस्तै भएको टिप्पणी गर्नुभयो । उनका अनुसार सरकारको उद्देश्य स्पष्ट छ र गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने योजना रहेको छ । प्रधानमन्त्री साहले नयाँ राजनीतिक शक्तिहरूको उदय सानो महत्वाकांक्षा र देश परिवर्तनको तीव्र चाहनाका कारण सम्भव भएको बताउनुभयो । उहाँले नयाँ पुस्तामा देखिएको परिवर्तनको हुटहुटीलाई कसैले रोक्न नसक्ने दाबी गर्दै रास्वपाले देशको समृद्धिका लागि दृढ भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री साहले सरकारी सम्पतीको दोहन र भ्रष्टाचार गर्नेहरूविरुद्धको कारवाहीमा अख्तियारलाई आवश्यक परे पाँच वर्ष नै सोधपुछ गरिने चेतावनी दिनुभएको छ । केही दिनअघि मात्रै सरकारले प्रधानमन्त्री कार्यालय बोलाएर पाँच घण्टासम्म अख्तियारका कर्मचारीलाई थुनेर राखेको भन्दै समाचार प्रकाशित भएको थियो । सोही समाचारप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । कसैसँग निहुँ नखोज्ने तर विगतमा भएका सरकारी सम्पतीको दोहन भ्रष्टाचारमा भने निहुँ खोजेरै भएपनि कारबाही गर्ने चेतावनी दिनुभयो । आफूहरुले कुनै नियम, कानून नमिच्ने भन्दै नियममै बसेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । विगतका दिनहरूमा भएका सरकारी सम्पती र रकमको दुरुपयोगलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो ।
वरिष्ठ नेता साहले राजनीतिमा स्थापित हुन कुनै समूह वा गुटको फेरो समात्नुको सट्टा जनताको आस्था र विश्वास जित्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*