संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने
६ असार, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिवार चिवतनमा बसेको रास्वपाको केन्द्रिय समिति बैठकमा उहाँले लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधैं प्रतिवद्ध रहने बताउनुभएको हो । उहाँले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाई छ । उहाँले विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र यसको मूल्यमान्यताबाट आफू तथा पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुद बनाउने बताउनु भयो । पार्टी स्थापनाका समयमा केन्द्रिय समितिमा राख्ने मान्छे नपाएको स्मरण गर्दै उहाँले हाल केन्द्रिय समितिमा सबैभन्दा बढी आंकाक्षी देखिएको बताउनु भयो । उहाँले महाधिवशेनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभयो । पार्टीमा विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उहाँको भनाई छ ।













