अख्तियार हेटौंडाको कामप्रति राज्य व्यवस्था समितिको असन्तुष्टि
५ असार, हेटौँडा । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको कार्यसम्पादनप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
समितिले उजुरी अनुसन्धान र फछ्र्योट प्रक्रियामा ढिलाइ भएको भन्दै कार्यालयलाई एक साताभित्र विस्तृत प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । शुक्रबार कार्यालयको स्थलगत अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका सभापति हरि ढकालले अख्तियारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले २०८१ फागुन ५ गते रौतहटको दुर्गाभगवती गाउँपालिकामा भएको भनिएको अनियमिततासम्बन्धी विषयमा समितिले अनुसन्धानका लागि निर्देशन दिएको स्मरण गराउँदै हालसम्म प्रारम्भिक अनुसन्धानमै सीमित रहेको अवस्थाले प्रश्न उठाएको बताउनुभयो ।
समितिको अनुगमनकै कारण ‘प्रारम्भिक अनुसन्धान’ भन्ने शब्द प्रयोग गरिएको हो कि भन्ने आशंका व्यक्त गर्दै उहाँले वास्तविक अनुसन्धानको अवस्था स्पष्ट पार्न आग्रह गर्नुभयो । सभापति ढकालले कार्यालयलाई हालसम्म दर्ता भएका उजुरी, फछ्र्योट भएका उजुरी तथा अदालतमा दायर गरिएका मुद्दाको विस्तृत विवरण सात दिनभित्र लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिनुभयो। साथै आगामी आर्थिक वर्षदेखि सुशासन प्रवद्र्धनका लागि समितिबाट आवश्यक सहजीकरण गर्नुपर्ने विषयहरूको सूचीसमेत पेश गर्न आग्रह गर्नुभयो । उहाँले कार्यालयको बेरुजु अवस्थासम्बन्धी विवरण पनि माग गर्नुभयो ।

सभापति ढकालले स्रोतसाधनको अभावलाई बहाना बनाएर काममा ढिलासुस्ती गर्न नहुने धारणा राख्नुभयो । मुलुकको वर्तमान आर्थिक अवस्थाका आधारमा प्रादेशिक कार्यालयको भौतिक संरचना पर्याप्त रहेको उल्लेख गर्दै उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । अख्तियारजस्तो संवैधानिक निकायलाई उजुरी ब्रोकर तथा ब्ल्याकमेलिङ गर्ने समूहहरूको माध्यम बन्न नदिनुपर्ने उहाँको भनाइ थियो ।
इमानदार कर्मचारी र जनप्रतिनिधिलाई अनावश्यक दुःख दिने तथा गलत कार्य गर्नेहरूलाई सहज हुने अवस्था आउन नदिन कार्यालय सचेत रहनुपर्ने उहाँले बताउनुभयो । नागरिक तथा सरोकारवालामाझ अख्तियारको कामकारबाहीप्रति व्यापक असन्तुष्टि रहेको उल्लेख गर्दै सभापति ढकालले कार्यालयमा दर्ता हुने उजुरीहरू अनुसन्धानका लागि हुन् कि केवल समाचारका शीर्षक बन्नका लागि भन्ने प्रश्न गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्थानीय तहले धेरै अवस्थामा त्रासपूर्ण वातावरणमा काम गर्नुपरेको गुनासो गर्नुभयो । सुशासन र पारदर्शिताप्रति स्थानीय सरकार प्रतिबद्ध भए पनि विभिन्न प्रक्रियागत जटिलताका कारण विकास निर्माणका काम प्रभावित हुने गरेको उहाँले बताउनुभयो । ठेक्का प्रक्रिया पूरा भएका आयोजना समेत चारदेखि पाँच वर्षसम्म सम्पन्न हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै नगर प्रमुख लामाले अख्तियारको कार्यप्रणाली थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । स्थानीय तहका कामकारबाहीमा निगरानी आवश्यक भए पनि अत्यधिक त्रासको वातावरणले निर्णय प्रक्रियामा असर पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका प्रमुख पवन तिमल्सिनाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार कार्यालयमा चालु आर्थिक वर्षमा दर्ता भएका २ हजार ३ सय ९० उजुरी मध्ये ६० प्रतिशत अर्थात् १ हजार ४ सय २७ उजुरी फछ्र्योट भइसकेका छन् । कार्यक्रममा समितिका सदस्यहरु कमल सुवेदी, श्रद्धा कुँवर, पद्म अर्याल, निश्कल राई लगायतको पनि उपस्थिति रहेको थियो ।













